Headlines News :
Home » » प्रहरी हाकिमका एसएसपी घिमिरे मोबाइल रेकर्डमा

प्रहरी हाकिमका एसएसपी घिमिरे मोबाइल रेकर्डमा



काठमाडौं : प्रहरी प्रभावित गर्न नेतालाई फोन गराउन लगाउँदै हुनुहुन्छ? वा प्रहरीलाई घूस खुवाएर अवैध काम मिलाउन खोज्दै हुनुहुन्छ? होसियार ! तपाईंको यससम्बन्धी आवाज प्रहरीमै रेकर्ड हुन्छ र यही आधारमा तपाईंमाथि पनि कारबाही हुनसक्छ।

राजनीतिक, प्रशासनिक दबाब र घूसको लेनदेनमा प्राय: विवादमा आइरहने प्रहरीलाई शुद्धीकरण गर्न काठमाडौं प्रहरीले नयाँ प्रयोग थालेको हो। कार्यालय प्रमुख प्रहरीहरूलाई निगरानीमा राख्न उनीहरूले चलाउने मोबाइल फोन स्वचालित रूपमा रेकर्ड हुने व्यवस्था गरिँदैछ।

एसएसपी घिमिरे

एसएसपी घिमिरे
महानगरीय प्रहरी परिसर हनुमानढोकाले पहिलो चरणमा आफू मातहतका १४ वटा प्रहरी वृत्तका प्रमुखको मोबाइल फोन रेकर्ड गर्नेछ। डीएसपीहरू प्रहरी वृत्त न्युरोडका उमेश जोशी, गौशालाका अभिनारायण काफ्ले, दरबारमार्गका चन्द्रकुवेर खापुङ, स्वयम्भूका दयानिधि ज्ञवाली, सोह्रखुट्टेका गणेश चन्द, सिंहदरबारका होविन्द्र बोगटी र बौद्धका श्यामसिंह चौधरीका मोबाइल फोनका कुराकानी आफैं रेकर्ड हुने बनाइएको छ।

त्यस्तै डीएसपीहरू प्रहरी वृत्त नयाँबानेश्वरका रेवती ढकाल, महाराजगन्जका प्रभु ढकाल, कालीमाटीका यज्ञविनोद पोखरेल, बालाजुकी गंगा पन्त, कीर्तिपुरका केदार खनाल, थानकोटका वीरबहादुर बुढा र कमलपोखरीका मुकेशकुमार सिंहका मोबाइलमा जोसुकैले फोन गरे पनि आफैं रेकर्ड हुने व्यवस्था गरिएको छ।

यसका लागि सबै वृत्त प्रमुखको एन्ड्रोइड सिस्टमको मोबाइल सेट संकलन भइसकेको र इन्टरनेटको प्रविधिमार्फत ती फोनमा आउनेमात्र होइन, त्यसबाट गरिने फोन पनि स्वत: रेकर्ड हुने प्रविधि मिलाइएको छ। 'आउँदो सातादेखि यो प्रविधिको प्रयोग गरिन्छ', महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुबोध घिमिरेले भने, 'यसबारे सबै प्रमुखसँग पटकपटक छलफल गरी सबैको फोन संकलन गरिसकिएको छ।'

दबाबमुक्त भएर जनतालाई वास्तविक न्याय दिन सकिन्छ कि भन्ने अभिप्रायले यस्तो काम थालिएको घिमिरेले बताए। प्रहरीलाई सदाचारमा अभिप्रेरित गर्न यस्तो प्रयास गरिएको र यसको सफलताले देशभरका प्रहरीलाई सकारात्मक सन्देश जाने उनको भनाइ थियो। सबै प्रभाग प्रमुखको व्यक्तिगत र सामूहिक स्वीकृतिमा रेकर्ड हुने प्रणाली मिलाइएको छ। ती मोबाइलमा हुने हरेक कुराकानी हनुमानढोकास्थित प्रहरी कार्यालयको एउटा कम्प्युटरमा रेकर्ड हुनेछ।

अपराधी, गुन्डा, हिंश्रक र चोरफटाहाहरू पक्रेर कार्यालय ल्याउन नपाउँदै बाटोबाटै छोडाउन विभिन्न दलका नेता, सत्ता निकटस्थ व्यक्ति र हाकिमबाट दबाब आउने गरेपछि जनतामा प्रहरीप्रतिको विश्वास घट्दै गएको छ। यस्ता दबाबले वास्तविक अपराधी उम्कने गरेका अनेकौं घटना छन्। आफैंबाट सुधारको थालनी गरेर आफ्नैलाई निगरानीमा राखे दबाब र प्रभावका भरमा काम गर्ने प्रवृत्तिमा कमी आउने विश्वास एसएसपी घिमिरेको छ।

महानगरीय प्रहरी वृत्तहरूलाई आफैं मुद्दा दायर गर्न पाउने गरी अधिकार प्रत्यायोजन गरेपछि वृत्त प्रमुखको निगरानी गर्न यस्तो विधि अपनाइएको हो। कुनै पनि विषयमा प्रहरी मुछिएर विवादमा आए वा कतैबाट उजुरी परे हनुमानढोकामा गरिएको फोन रेकर्ड सुनेर कारबाही प्रक्रिया अघि बढाइनेछ।

एसएसपी घिमिरेले दबाब वा प्रभावमा पार्नेहरूको पनि आवाज रेकर्ड हुने हुँदा उनीहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउन मद्दत पुग्ने बताए। प्रहरी हाकिमका एसएसपी घिमिरे मोबाइल रेकर्डमा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार