|
|
|
|
चितवन, कार्तिक १८ - निर्वाचन कार्यालयमा दैनिक आउने नक्कली उजुरीले अनुगमनमा खटिने कर्मचारी हैरान बनेका छन् । फोनबाट आउने यस्ता उजुरीका बारेमा बुझ्न तुरुन्तै पुग्ने कर्मचारी दिक्क मान्दै र्फकने गरेका छन् । रिसइवीले गरिने उजुरीले कर्मचारीलाई कसले आचारसंहिता उल्लंघन गरेको छ, कसले छैन छुट्याउनै मुस्किल परेको छ । कार्यालयका अनुसार लिखित
उजुरी ३ दिनदेखि केही घटेको छ । दैनिक ५/६ वटासम्म लिखित उजुरी आउने कार्यालयले जनाएको छ । मौखिक उजुरी त दर्जनौं आउने गरेका छन् ।
मौखिक आउने उजुरीमा उम्मेदवारले भोज खुवाएको, वाल पेन्टिङ गरेको, झन्डा टाँगेको, माइकिङ गरेको, कार्यक्रमको उद्घाटन गरेको लगायतका विषय हुने गरेका छन् । उजुरीकर्ताले आफ्नो वास्तविक नाम नभन्ने भएकाले कर्मचारीलाई अज्ञात व्यक्तिबाट आउने यस्ता खबरले सताएको छ । 'कसैलाई स्पष्टीकरण सोध्न नसकिने गरि फोन आउँछन्, मुख्य निर्वाचन अधिकृत बिनोदमोहन आचार्यले भने, 'सक्कली र नक्कली उजुरी निक्र्योल गर्नमा समय खेर गइरहेको छ ।' कर्मचारीलाई दुःख दिने नियतले उजुरी गरेको उनले बताए ।
कार्यालयले जनशक्ति अभाव भएपछि मंगलबारदेखि १ जना अनुगमन अधिकृत नियुक्त गरेको छ । आचारसंहितालाई कडाइ गर्न छड्के अनुगमनको तयारी कार्यालयले गरेको छ । 'धेरै उजुरी नक्कली आएका छन्, अनुगमन अधिकृत श्रीकृष्ण नेपालले भने, 'मंगलबार बिहान भरतपुरमा सडकमा सूर्य चिह्न बनाएको उजुरी आयो, हेर्न जाँदा त्यहाँ केही थिएन ।' आएका लिखित उजुरीको अध्ययन र सचेत गराउने काम भइरहेको उनले जानकारी दिए ।
आचारसंहितालाई पार्टी तहबाट कार्यान्वयन होस् भने कार्यालयले सर्वदलीय बैठक राखेर जिल्ला नेतालाई सचेत गराएको छ । सोमबारको बैठकमा सबै पार्टीका जिल्ला अध्यक्ष तथा नेताले आफ्ना उम्मेदवारबाट आचारसंहिता उल्लंघन नहुने प्रतिबद्धता जनाए । नेताहरूले नै आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएकाले लिखित उजुरीमा कमी आएको मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । कार्यालयका अनुसार आचारसंहिता उल्लंघन गर्नेमा सबै दलका नेता छन् । केही दिनेदेखि प्रचारमा खटिएका क्षेत्र नं ४ का उम्मेदवार कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध ३ उजुरी परेका छन् । क्षेत्र नं ५ मा अमिक शेरचनले विद्यालयको कार्यक्रम उद्घाटन गरेको उजुरी परेकोमा सचेत गरिएको कार्यालयले जनाएको छ । त्यस क्षेत्रका एमाले उम्मेदवार दानबहादुर तामाङले बाजा बजाएको उजुरी परेको छ । प्रमाणबिनाका उजुरीमाथि कारबाही गर्न कठिनाइ हुने आचार्यले बताए । आचारसंहिता कडाइमा अझ प्रभावकारिता होस् भनेर सबै क्षेत्रमा अनुगमन थालिएको उनले जानकारी दिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !