|
|
|
|
२० कात्तिक, काठमाडौं । एमाओवादी नेतृ हिसिला यमी बनेर तीतोसत्य टेलीश्रृंखलामा अभिनय गरेकी कलाकार विपना बस्नेतलाई आफू एकीकृत माओवादीको कार्यकर्ता बनेको पत्तै भएन । उहाँलाई आफू एमाओवादीमा प्रवेश गर्दै छु भन्ने थाहा थिएन । तर, आफ्नो इच्छा र जानकारीविनै विपनालाई एमाओवादीका अध्यक्ष प्रचण्डले अबीर र खादा लगाएर पार्टीमा प्रवेश गराउनुभयो । आफ्नो इच्छाविपरीत झुक्याएर प्रचण्डसमक्ष पुर्याई पार्टी प्रवेश गराइएकोमा यतिबेला कलाकार विपना बस्नेत निकै दुःखी देखिनुभएको छ । एमाओवादी पार्टीमा प्रवेश गरिसकेको आफैंले थाहा नपाएकी विपनाले सबैले बधाइ दिन थालेपछि मात्रै एमाओवादी कार्यकर्ताले देखाएको नौटंकीबारे चाल पाउनुभएको थियो । देउसी भैलो खेल्ने भन्दै कीर्तिपुर पुर्याइएकी कलाकार विपनालाई एकैछिनमा नाटकीय तरिकाले एमाओवादीको कार्यकर्ता बनाइयो, त्यही पनि कुनै कोठाभित्र नभएर जनमानसका वीचमा । आफू एमाओवादी पार्टीमा प्रवेश गरेको होइन भनेर धेरैलाई जवाफदिँदा दिँदा उहाँ हैरान बन्न थाल्नुभएको छ । केही दिनअघि कीर्तिपुरबाट एमाओवादीमा प्रवेश गरेको भनिएकी कलाकार विपना आफू पैसाको लोभमा परेर देउसी भैलो खेल्न गएको तर फसाएर एमाओवादी बनाइएको भन्दै अनलाइनखबरमार्फत यसरी स्पष्टीकरण दिनुहुन्छ - ‘अघिल्लो दिनको छायांकनका कारण म बिहान अबेरसम्म सुतिरहेकी थिएँ । एक्कासी चलचित्र निर्देशक विजय बस्नेतले फोन गरेर देउसीभैलो खेल्न आउनुपर्यो भने । मैले ढीलो सुतेकाले आउन नसक्ने जवाफ फर्काएँ । तर, पैसा आउँछ भनेपछि लोभ त लागिहाल्यो नि, यसैले घरमै गाडी लिन आएपछि किर्तिपुर पुगें । मलाई अब तपाईको हिसिला यमीजस्तै गेटअप बनाउनु भनेपछि कपडा लगाएर नक्कली हिसिला यमी बनें । यसपश्चात हामी देउसी भैलो खेल्न थाल्यौं । एकैछिनमा एमाओवादीका अध्यक्ष प्रचण्ड पनि आउनुभयो । मलाई लाग्यो, उहाँ पनि देउसी नै खेल्न आउनुएको होला । तर, पछि चिना परिचयको कार्यक्रम भन्दै प्रचण्डले टीका र खादा लगाइदिन थाल्नुभयो । तिहारको समयमा प्रचण्डले टीका र खादा लगाउँदा मलाई लाग्यो, देउसी भैलोमा प्रचण्डसँग जम्काभेट भएकाले उनले औपचारिकता निभाएका होलान् भनेर । तर, पछि एकाएक मलाई बधाई आउन थालेपछि छक्क परें । त्यहाँ पुगेका एक चलचित्रकर्मीलाई सोध्दा थाहा भयो, मलाई त एमाओवादीमा प्रवेश गराएर कार्यकर्ता पो बनाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु कि म कुनै पार्टीमा प्रवेश गरेको होइन । पैसा आउने भनेपछि म देउसी भैलो खेल्नसम्म गएकी हुँ । तर, झुक्काएर पार्टी प्रवेश गराइएछ । कलाकर्मी भएकाले राम्रो पारिश्रमिक आउँछ भने म अहिले पनि एमाले, कांग्रेसकोमा पनि देउसीभैलो खेल्न जान तयार छु । म स्वतन्त्र नागरिक हुँ । मलाई कुनै पार्टीको कार्यकर्ता हुनुछैन । -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !