Headlines News :
Home » » चुनाव बिदाको असर: हजारअधिक कामदारको भिसा म्याद सकिने

चुनाव बिदाको असर: हजारअधिक कामदारको भिसा म्याद सकिने



काठमाडौं - चुनाव बिदाका कारण वैदेशिक रोजगार विभागमा काम नहुँदा अन्तिम श्रम स्वीकृति पर्खेका एक हजारभन्दा बढी कामदारको भिसा म्याद सकिने भएको छ। भिसा म्याद सकिँदा कामदार व्यवसायीले त्यसका लागि खर्चेको लाखौं रुपैयाँ खेर जाँदैछ। विभागले शुक्रबार बिजुली कर्मचारी नभएको भन्दै काम नगरिदिएकाले यो अवस्था आएको हो।



संविधानसभा निर्वाचनका लागि सरकारले आइतबारदेखि लागू हुने गरी चारदिने बिदा घोषणा गरेको छ। बिदा सकिएर विभाग खुल्दा हजारभन्दा बढी कामदारको भिसा म्याद सकिने भएकोले उनीहरु बाहिरिन नपाउने रोजगार व्यवसायी बताउँछन्। उड्ने बेलामा आएर अन्तिम श्रम स्वीकृति रोकिँदा कामदार रोजगार व्यवसायी दुवैलाई आर्थिक भार थपिने पनि व्यवसायी बताउँछन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङका अनुसार शुक्रबार विभागका कर्मचारीले काम नगरिदिएपछि मन्त्रिपरिषद कार्यालयले मन्त्रालयमार्फत विभाग खोलेर भए पनि आइतबार काम गरिदिन लिखित निर्देशन दिएको थियो। त्यो निर्देशन कर्मचारीले अवज्ञा गर्दा आइतबार काम भएन। 'बिदापछि भिसाको म्याद सकिन्छ,' अध्यक्ष तामाङले भने।
मन्त्रिपरिषद कार्यालय मुख्य सचिवको निर्देशन कर्मचारीले नमान्दा कामदार व्यवसायी अन्योलमा परेको तामाङले बताए। 'हामीले शुक्रबार काम नभएपछि तत्काल मन्त्रिपरिषद कार्यालय, श्रम तथा रोजगार मन्त्रालय, मुख्य सचिवलगायतलाई भेटी आइतबार कार्यालय खोलेर भए पनि काम गरिदिन अनुरोध गरेका थियौं,' तामाङले भने, 'मुख्य सचिवले लिखित निर्देशन पनि दिनुभयो। तर, कर्मचारीले गरिदिएनन्।'
म्याद सकिएपछि निःशुल्क भिसा आउने देश भए कामदारले व्यवसायीलाई दिएको कमिसन शुल्क लाग्ने देश भए ३० देखि ४० हजार रुपैयाँ कामदारको खर्च हुने व्यवसायी बताउँछन्। संघकी सचिव सुवर्ण श्रेष्ठले व्यवसायीको पनि डकुमेन्ट खर्च हुने तर धेरै आर्थिक भार कामदारलाई नै पर्ने बताइन्। 'उनीहरु काठमाडौं बस्दा फेरि प्रक्रिया गर्दा ५० हजार रुपैयाँसम्म खर्च हुन्छ,' उनले भनिन्।
मलेसिया जान १० दिनदेखि अन्तिम श्रम स्वीकृति कुरेका गुल्मी वामीटक्सारका विनोद न्यौपानेले आइतबार उड्ने भनिए पनि शुक्रबार श्रम स्वीकृति लिन नपाउँदा रोकिएको बताए। 'चार महिनादेखि प्रक्रियामा थियौं, शुक्रबार श्रम स्वीकृति आएपछि आइतबार जाने भनिए पनि पाइएन,' उनले भने, 'बुधबार भिसाको म्याद सकिँदै छ।'
अन्तिम श्रम स्वीकृति जस्तै पुनः श्रम स्वीकृतिसमेतको काम नहुँदा फर्केर जाने कामदार पनि प्रभावित भएका छन्। छुट्टीमा आएर जाने कामदारमाथि टिकटबापत २५/२६ हजार रुपैयाँ व्ययभार थपिन्छ।
मुख्य सचिव लिलामणि पौडेलले कामदारलाई अप्ठेरो पर्ने देखेर मन्त्रीले आइतबार विभाग खोल्न निर्देशन दिएको बताए। 'कर्मचारीले लिखित पत्र चाहिन्छ भनेपछि त्यो पनि पठायौं। तर, पत्र पुग्नुअघि नै कर्मचारी हिँडेकाले काम भएन,' उनले भने, '११ बजे पत्र पुगेको थियो। कर्मचारी हिडिँसकेछन्।'
श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले विभागका अधिकांश कर्मचारी निर्वाचनमा खटेकोले जनशक्ति नभएर काम हुन नसकेको बताए। 'विभागका महानिर्देशकसहित धेरै कर्मचारी निर्वाचनको काममा खटिएका छन्। आइतबारदेखि बिदा घोषणा गरिएका कारण कर्मचारी नआउनाले काम नभएको हो,' उनले भने।
रसुवामा रहेका विभाग महानिर्देशक विनोद केसीले निर्वाचनमा कर्मचारी खटिनु परेकोले काम हुन नसकेको प्रतिक्रिया दिए।
मतदान गरेर जाने १५ हजार
भिसा श्रम स्वीकृति आए पनि संविधानसभा निर्वाचनमा मतदान गरेर मात्रै विदेसिने मनस्थितिका कामदार संख्या १५ हजार रहेको व्यवसायीले बताए। शुक्रबारसम्म श्रम स्वीकृति आएका टिकट मिलाएका कामदारले भोट हालेर मात्रै जाने चाहना व्यक्त गरेका छन्।
निर्वाचनले गर्दा १५ भन्दा बढी कामदार रोकिएको संघका अध्यक्ष बलबहादुर तामाङले बताए। 'धेरै कामदारले भोट हालेर जाने भने पनि केही बन्दले रोकिएका हुन्,' उनले भने। उनका अनुसार दसैंपछि धेरै कामदार रोकिएको अहिले नै हो।
श्रम स्वीकृति निस्के पनि भिसा म्याद बाँकी रहेकोले अधिकांश कामदार भोट हालेर जाने मनस्थितिमा पुगेको उनले बताए।
पहिलादेखि नै विदेश जाने मनस्थितिमा रहे पनि चुनाव नजिकिएकाले भोट हालेर मात्रै जानेर भनेर चुनावपछिको टिकट बनाएको बागलुङ बुर्तिबाङका मनबहादुर जुग्जालीले बताए। उनले कतार जान सोमबारको टिकट लिएकोमा बिहीबार सारेको बताए।
निर्वाचन आयोगले पनि विदेश जान लागेका कामदारलाई लक्षित गर्दै चेतनामुलक विज्ञापन प्रसारण गरिरहेको छ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार