|
|
|
|
वरिष्ठ अभिनेता तथा एमाले समानुपातिक उम्मेदवार भुवन केसीले आफूले संविधानसभा निर्वाचन २०७० मा विजय हासिल गरिसकेको दावी गरे । रातोसूर्यका लागि विश्वमणि सुवेदीसँग कुरा गर्दै केसीले अब पार्टीले आफूलाई सभासद्का रुपमा अन्तिम छनौट गर्नमात्र बाँकी रहेको बताए । संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि पहिला नाम आएर पछि संशोधनमा परेका केसीले प्रत्यक्ष उम्मेदवार भएको भए यतिबेलासम्म विजयको माला पहिरिसक्ने विश्वास पनि व्यक्त गरे ।
काठमाडौं १ मा एमालेले पाएको चौथो स्थानलाई आफ्नो उम्मेदवारीले पहिलो बनाउने सक्ने आत्मविश्वास आफूले पहिल्यैबाट साँचेको उनले सुनाए । भने, ‘तर, देशव्यापी रुपमा एमालेको बढ्दो जनलहरबाट म पनि सन्तुष्ट छु ।’ बहुपहिचानसहितको संघीयताको नाराका कारण एमालेले अग्रता लिएको बताउने अभिनेता केसीले संविधानसभामा गएर नेपालको कला, संस्कृतिको विकाससँगै कलाकारहरुको हतहितका लागि संघर्ष गर्ने बताए । उनले भने, ‘मैले चुनाव जितिसकेको छु ।
मेरो जित सिंगो कलाकारिता क्षेत्रको जित हो । यसमा सबैले खुशी मनाउनुपर्छ ।’ चुनावमा भाग लिएर पराजित भएका कलाकारहरुको पराजयप्रति उनले सहानाभूति प्रकट गरे । ‘उहाँहरुले पार्टी छान्नमा भूल गर्नुभयो । एमालेजस्तो पार्टी पहिल्यै छानेको भए पराजय भोग्नुपर्दैनथ्यो ।’


0 comments:
Speak up your mind
Tell us what you're thinking... !