|
|
|
|
काठमाडौं, २५ असोज । दसैं नै हो कि यो मेरो दसा फर्की
आएको वर्ष नै पिच्छे,
किन यो मेरो टाउको खाएको दसैं
आएको, दसैं आएको……।
योगेश्वर अमात्यको स्वरमा रहेको यो गीत, जसले हर्ष र उल्लास बोकेर आउने भनिएको दसैं पर्वप्रति गरिब नेपालीको नियति अभिव्यक्त गर्छ । दसैंले छपक्कै छोप्न लाग्दा उपत्यकाका विभिन्न ठाउँमा भेटिएका केही व्यक्तिसँग दसैं राम्रोसँग मनाउने चाहना त छ, स्रोत छैन । आर्थिक हैसियत केही उच्च रहेकाहरुको मनमा बढेको दसैं उत्साह र बजारमा बढेको चहलपहलबीच उनीहरु भने दसैं कसरी टार्ने भन्ने चिन्तामा छन् ।
ललितपुर बडिखेल–७ का मखन पोशरीलाई दसैंले छोएको छैन । दसैंको चहलपहल देख्न नसक्ने मात्रै महसुस गर्ने दृष्टिविहीन पोशरीसँग दसैं कसरी मनाइन्छ भनेर सोध्दा उनी एकैछिन रोकिए । योगेश्वर अमात्यको गीतकै शब्द सापटी लिएझैं गरी उनले एकछिन रोकिएपछि भने, ‘के दसैं हाम्रो लागि त दशा मात्र हो ।’
मखन जीवन धान्न काठमाडौंको सुनधारामा तौल मेसिन लिएर बस्छन् । दिनमा ५० देखि सय रुपियाँसम्म कमाइ हुन्छ । खाजा र आतेजाते खर्च गरी दिनमा तीस रुपियाँजति बचत हुन्छ । ‘दैनिक तीस रुपियाँ कमाउनेको दसैं कस्तो हुन्छ होला र सर ?’ उनको प्रतिप्रश्न अस्वाभाविक थिएन
उनको श्रीमती छिन् दृष्टिविहीन नै । दुई छोरा र एक छोरी छन् । व्यक्तिगत र संयुक्त चाहना नभएको होइन त्यो परिवारसँग । तर पूर्ति गर्ने बाटो छैन । ‘गरिब छौं, त्यसमाथि दृष्टिविहीन । जीवनमा चाडबाड वा दसैं–तिहार कहिल्यै आएन, आउँदैन पनि होला’ मखनले विवशता पोखे ।
एउटा तौल मेसिनको भरमा पाँच जनाको परिवार पाल्नुपर्छ मखनले । दसैं नजिकिँदै गर्दा बजारमा बढेको चहलपहलसँगै तौल जोख्ने मानिस र कमाइ बढ्ने उनको विश्वास छ । तर विश्वास न हो, के पूरा होला र ? भयो भने त मखन परिवारको दसैं औसतभन्दा माथि होला । तर, बच्चाहरुलाई नयाँ लुगा किनिदिने, मीठोमसिनो खाने चाह त छ तर पूरा गर्ने औकात छैन उनीसँग । उनी भन्छन्, ‘जस्तो भए पनि जीवनमा खुसी छौं, सबै परिवार एक ठाउँ बसेर एक किलो मासु ल्याएर भए पनि दसैं मनाउँछौं ।’ सशस्त्र द्वन्द्वले उत्कर्ष रुप लिएपछि लम्जुङ व्यासीटार गाविस–८ कि रिसकुमारी गुरुङ काठमाडौं छिरिन् । त्यसयता कलंकीमा नाङ्लोमा ‘खिर्चिमिर्चि’ राखेर व्यापार गरी जीवन धानिरहेकी छन् । सडकपेटीमा रहेको पसलमा दैनिक एक सयदेखि एक सय पचास रुपियाँसम्मको बिक्री हुन्छ । र, त्यसबाट तीस रुपियाँ जति कमाइ । ‘दसैं त आयो, कसरी मनाउनुहुन्छ ?’ सामान्य प्रश्नमा हाँस्दै उनले झनै सामान्य उत्तर दिइन, ‘नाङ्लोले धानिदिएको जीवनमा केको दसैं ?’ दसैंमा एउटा धोती किन्ने योजना छ उनीसँग तर खर्च पुग्ने हो कि होइन दोधारमा छिन् ।
दोलखा भेड्पु–५ का वीरबहादुर तामाङको अवस्था पनि उस्तै छ । काठमाडौंमा ज्यालादारी गरेर पाँच जनाको परिवार जेनतेन चलाइरहेका छन् । दसैंसँगै वीरबहादुरमा खुसी आएको छैन ।
काठमाडौंको न्यूरोडमा भेटिएका उनले चार वर्षदेखि ज्याला नबढेको गुनासो गरे । ‘कमाइ उस्तै छ तर भाउले आकाश छोइसक्यो, यस्तो बेलामा के मन फुकाएर दसैं मान्नु’ उनले मलिनो अनुहार लगाएर भने । दसैंमा घर (दोलखा) जाने योजना त छ । तर पैसाले बाटो छेकिदेला कि भन्ने डर । जेजस्तो भए पनि उनी परिवार एकै ठाउँमा भेला भएर दसैं मनाउने योजनामा छन् ।
‘छोराले फोन गरे जिन्स पाइन्ट भनेको छ । सानी छोरीलाई केही लगिदिन पाए हुन्थ्यो’ उनले चाहना सुनाए । ‘मन त छ, धन छैन खै के गर्नु सर’ उनले छुट्टिने
बेलामा भने ।
काभ्रेपलाञ्चोक मालगिरी–४ का बाबु तामाङको गाउँमा सात जनाको परिवार छ । उनी भने काठमाडौंको न्यूरोडमा ज्यालादारी गरेर जीविका चलाइरहेका छन् । पछिल्लो पन्ध्र वर्षदेखि ठेलागाडासँगै जीवन तानिँदै आएको छ । एक भारीको तीसदेखि १ सय ५० रुपियाँसम्म कमाउँछन् । चाडबाडको बेलामा पनि परिवारलाई खुसी राख्न नसक्दा मन दुख्छ तर दुखेर पनि के गर्नु ? ठेला बाहेकको उपाय छैन ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !