Headlines News :
Home » » आफैले गोली हानी आक्रमणको नाटक गर्दा प्रहरीको फन्दामा

आफैले गोली हानी आक्रमणको नाटक गर्दा प्रहरीको फन्दामा



सुर्खेत, २३ पुस । आफूले आफैलाई गोली हानी आपराधिक समूहको आक्रमणमा परेको नाटक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना ऐनअनुसार मुद्दा चलाएको छ । आफ्नै पाखुरामा पेस्तोलले गोली हानेर आक्रमणको नाटक गर्ने लाटिकोइली–९ बस्ने भुपेन्द्र विसीलाई प्रहरीले पक्राउ गरेको हो । उनले यही पुस ६ गते साँझ मोटरसाइकलमा आएका दुई जनाले आफूलाई गोली हानेर भागेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सुरक्षाको माग गरेका थिए ।
घटनास्थल र गोलीको प्रकृति हेर्दा अरुको संलग्नता हुनसक्ने आधार नदेखिएपछि विसीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गर्दा उनले आफूले आफैले गोली हानेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारले जानकारी दिनुभयो ।
पेस्तोल खेलाउने क्रममा गोली लागेको बताउँदै विसीले आफू फस्ने भएकाले अरुले गोली हानेको बहाना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । यसैबीच, वीरेन्द्रनगरमा सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले हातहतियार बेचबिखनमा संलग्न अर्को एक जनालाई पनि पक्राउ गरेको जनाएको छ । प्रहरीले ग्राहक बनेर गई सुर्खेतको कुनाथरी–९ जलुकेका विष्णुबहादुर नेपालीलाई एक थान ९ एमएमको अमेरिकन पेस्तोलसहित पक्राउ गरेको हो ।
६० हजारमा किन्ने सहमति भएपछि पेस्तोल लिएर आएका नेपालीलाई प्रहरी निरीक्षक रेशमलाल रेग्मी नेतृत्वको टोलीले पक्राउ गरेको हो । नेपाली लामो समयदेखि हातहतियार मर्मतमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।
यस्तै लाटिकोइली–८ का कृष्णबहादुर बुढालाई पनि प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरी निरीक्षक लक्ष्मण शाहीको नेतृत्वको टोलीले बुढालाई पक्राउ गरेको हो ।
आफैले गोली हानी आक्रमणको नाटक गर्दा प्रहरीको फन्दामा


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार