|
|
|
|
काठमाडौ, माघ २ – फाट्नै लागेको छालाको जुत्ता, पातलो र मैलो ज्याकेट, उस्तै पाइन्ट ।
घाँटीमा डाक्टरले जस्तो तन्द्रयाङतुन्द्रुङ भिरेर सडक छेउ ह्वीलचियरमा बसेका मान्छेलाई त्यहाँ पुग्ने सबैले एकपटक हेर्छन् । पाङ्ग्रा भएको कुर्सीमा ‘यहाँ ब्लड प्रेसर चेक गरिन्छ’ भनेर लेखिएको कागज पनि झुण्ड्याइएको छ ।
‘तपाईंको प्रेसर अलि बढी छ, धेरै अल्कोहल नलिनु होला.....ठीकै छ, व्यायम गरिरहनुभएको छ भने त्यसलाई निरन्तरता दिनुहोस्, गर्नुहुन्न भने अबदेखि गर्ने गर्नुहोस्..अलि बढि हिँड्ने गर्नुहोस्...।’ हातमा प्रेसर नाप्ने मेशिन राख्दै अरुको स्वास्थ्य अवस्थाबारे यसरी खरर..भन्दिने मान्छे आफु भने अशक्त छन् । त्यही गुड्ने कुर्सीमा बसेर जिन्दगी गुडाउन थालेको पनि ४८ वर्ष भैसक्यो ।
ललितपुर इकुडोल ९ स्थायी घर भएका बालकृष्ण घिमिरे उठेर जर्याकजुरुक गर्न र सडकमा अरुले जस्तो ठमठमी हिँड्न सक्नुहुन्न । जन्मदैमा पोलियो भएर खुट्टो नचल्ने भएपछि जिन्दगी गुडाउन पाङ्ग्रा भएको कुर्सी अर्थात ह्वीलचियरको सहायता लिनुपरेको हो ।
देख्नेहरुमध्ये कसैले उहाँलाई डाक्टर समेत ठान्ने गर्छन् । तर उहाँ अहिलेसम्म स्कूल जानुभएको छैन । ‘मैले एक कक्षा पनि पढेको छैन, तर ९ कक्षा पढे बराबरको योग्यता आफैंले बनाएको छु’ फुर्तिसाथ उहाँले भन्नुभयो, ‘आफ्नो सिक्ने रुची छ भने नपढेपनि धेरै कुरा जान्न सकिन्छ ।’
अपांगता भएपनि उहाँले कहिल्यै हिम्मत हार्नुभएन । ‘पाँच वर्षसम्म ठेचोमा गलैंचाको काम पनि गरें, डोकाडाला बनाउने काम पनि जानेको छु’ घिमिरेले भन्नुभयो, ‘यो काम थालेको चाहिँ केही वर्ष मात्रै भयो ।’
सुरुमा उहाँले डिजिटल मेसिनबाट ब्लड पे्रसर जाँच्ने काम गर्नुहुन्थ्यो । ‘डिजिटलबाट त जसले पनि जान्ने भए, पछि मेरा डाक्टर साथीहरुले सिकाएपछि अहिले अस्पतालमा जसरी नै प्रेसर नाप्न सक्ने भएको छु’ उहाँले भन्नुभयो । काम सजिलो र अरुलाई स्वास्थ्यको विषयमा सजक गराउन पनि पाइने भएकाले आफूले यो पेशा रोजेको उहाँको भनाई छ ।
इकुडोल घर भएपनि उहाँ जावलाखेलमा डेरा गरी बस्नुहुन्छ । विहान उठेर आफैं कुर्सी गुडाउँदै सडक छेउ पुग्नुहुन्छ । छेउमा तौलने मेसिन राख्नुहुन्छ । अनि प्रेसर नाप्ने यन्त्र घाँटीमा झुण्ड्याएर मान्छे पर्खनुहुन्छ ।
‘पहिले त रेट तोकेको थिएँ, अहिले छैन’ उहाँले भन्नुभयो ‘खुशीले जति दिनुहुन्छ, त्यति लिन्छु ।’ आफूले पैसा नहुनेको सित्तैमा पनि प्रेसर जाँच गरेको र सक्नेले हजार रुपैयाँसम्म दिने गरेको पनि उहाँले सुनाउनुभयो । ‘मलाई देख्ने बित्तिकै धेरैले प्रेसर नाप्दिनोस् भनेर हात तेर्स्याइहाल्छन्’ घिमिरेले भन्नुभयो ‘त्यसैले काम पाइएन भन्ने चिन्ता हुँदैन, घर व्यवहार चलाइरहेको छु ।’
मासिक ३ हजार भाडा तिर्नुपर्ने कोठामा श्रीमती र दुई छोरा पनि छन् । उहाँकै कमाइले परिवारको गर्जो टर्छ । राज्यले अपांगता भत्ता दिने व्यवस्था गरेपनि उहाँले अहिलेसम्म लिनुभएको छैन ।
राज्यको सहयोग र कसैको दानमा भर नपर्न उहाँको सल्लाह छ ।
‘म सानैदेखि मेहनत र परिश्रममा विश्वास गर्ने मान्छे हो’ उहाँले निकै प्रेरक कुरा भन्नुभयो, ‘अपांगता भएका मजस्तै साथीहरुलाई भन्छु कि सरकारको मुख नताक्नुहोस्, मेहनत गर्नेलाई काम र दामको खाँचो हुँदैन । अपांगता भएर पनि अरु सक्ने काम गरेर जीविकोपार्जन गर्न सकिन्छ ।’
‘डाक्टर’ बने नपढेका अशक्त व्यती



0 comments:
Speak up your mind
Tell us what you're thinking... !