Headlines News :
Home » » ‘खै के हो संविधान ? खै के हो राजनीति ?’

‘खै के हो संविधान ? खै के हो राजनीति ?’



नवलपरासी | सुन्तली तामाङ ८० वर्षकी भइन् । उनी नवलपरासीको रजहर गाविस अन्र्तगत पर्ने गैँडाताल वस्तीकी एक सदस्य हुन् । दलित तथा आदिवासी बाहुल्य सो वस्तीका बासिन्दालाई संविधानको भन्दा विहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ ।
वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा भोट हाल्दा उनलाई आश थियो आफू बस्दै आएको जग्गाको लालपुर्जा बन्ला भनेर । तर उनको आश आशमै सिमित रह्यो ।
‘०६४ सालको चुनावमा भोट हाल्दा लालपुर्जा बन्छ कि भन्ने आश थियो’ सुन्तलीले भनिन्, ‘तर बनेन । हाम्रो र हाम्रो गाउँको अवस्था अझै उस्तै छ ।’
उनलाई न देशको राजनीति, नेता, संविधानबारे थाहा छ, न त मलतब नै ।
उनलाई आफ्नो गाउँघर र काम गर्ने थलो बाहेक केहीको मतलब छैन । पटकपटक देखाएका आशाहरु नेताहरुले पुरा नगरेपछि उनी झन् दिक्क छिन् ।
‘ती (नेताहरु) सबै स्वार्थी र आफूकेन्द्रित छन्’ सुन्तलीको आक्रोश छ, ‘हाम्रो अवस्था उस्तै हो । हाम्रो आवाज कसले सुनिदिने ?’

धनबहादुर तामाङ ९२ वर्षका भए । तर उनले घरायँसी काम गर्न छाडेका छैनन् । चिसोयामको विहानै उनी डोको बुनिरहेका छन् । कान नसुन्ने आफ्ना श्रीमान्लाई बोलाउन श्रीमतीले हाउभाउको सहारा लिन्छिन् ।
निम्न आर्थिकस्तरका कारण उनीहरुलाई काम नगरी खानबस्न पुग्दैन । घर्किइसकेको उमेरमा पनि सकिनसकी काम गर्नु उनीरुको बाध्यता हो ।

उनीहरुको न आफ्नो घर छ, न त धेरै जग्गा । दुई दशकसम्म ‘सेवा’ गरेपछि एउटा झुप्रो बनाइदिए साहुले उनीहरुलाई । त्यही झुपडीमा उनीहरु जीवन बिताउँदैछन् ।
उनीहरुले एक दर्जन सन्तान जन्माए । तर अहिले सबै छोरा छोरी आ–आफ्नो घर सम्हाल्दै छन् । ‘उनीहरु आफ्नो–आफ्नो गरेर खाएका छन्’ तामाङ दम्पत्तिको पीडा यस्तो छ, ‘अहिले न छोरा छोरीले हेरे, न अरुले ।’
चुनावको बेला लालपुर्जा दिने, औषधीमूलोको चाँजोपाँजो मिलाइदिने, भत्किन लागेको झुप्रो नयाँ बनाइदिने आश्वासन उम्मेदवारहरुले बाँडे, पहिले र अहिलेको चुनावमा पनि । नवलपरासीको क्षेत्र नम्बर १ अन्र्तगत पर्ने यो वस्तीमा पहिले (०६४) र अहिले (०७०)मा जित्ने कांग्रेसका शशांक कोइराला हुन् । तर उनी चुनाव जितेपछि कहिले पनि गाउँ नफर्किने गरेको त्यहाँका बासिन्दाको गुनासो छ ।
‘हाम्रा समस्या समाधान गर्न त परैको कुरा’ सोही वस्तीकी ४५ वर्षीया शान्तिमाया तामाङले भनिन्, ‘फर्किएर नि आउँदैनन् ।’

सानोतिनो जागिर पाउन पाएपनि जीवन गुजारा गर्न सहज हुन्थ्यो कि भन्ने सोच्छन् उनीहरु । ‘जागिर पाउन पाए जाउलो खाने बाटो हुन्थ्यो कि !’ आफ्नो आवश्यकताबारे उनी गुनासो गर्छिन्, ‘घर हुरीले भत्काइदिन्छ, । बाटोघाटो छैन । लालपुर्जा छैन । व्यवस्था गरिदिए हुन्थ्यो ।’
गैँडाताल वस्तीमा झण्डै ४०/५० घर छन् । ती मध्ये धेरै दलित, आदिवासी र जनजाति छन् ।
धेरैले त्यो वस्तीलाई ‘सुकुम्बासीहरुको वस्ती’ घन्छन् । कारण, त्यहाँका धेरैसँग जग्गाधनीको प्रमाणपत्र छैन । अर्कोतर्फ राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, गैँडालगायतका जंगली जनावरले बारम्बार सताउने गर्छ गैँडातालका बासिन्दालाई । गैँडा आएर तालमा बस्ने भएकोले वस्तीको नाम नै गैँडाताल राखिएको रहेछ त्यो वस्तीको नाम । जसले समस्याको अर्को पाटो उजागर गर्छ ।
सुकुम्बासीको नाममा राजनीति गर्न त्यहाँ धेरै दल र नेता पुगे । ‘तपाइँहरुलाई यस्तो गर्छौ र उस्तो गर्छौँ भनेर आउँछन् नेताहरु’ चुनमाया विश्वकर्मा भन्छिन् ‘तर गर्ने केही होइनन् ।’
उनले यसपटकको चुनावमा नेताहरुलाई अन्तिम मौका दिएको बताइन् । ‘अहिले त दियैँ भोट’ चुनमायाले भनिन्, ‘अब पनि केही गरेनन् भने नेता आउँदा जानेका छौँ हामीले ।’
‘खै के हो संविधान ? खै के हो राजनीति ?’


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार