|
|
|
|
लन्डन , मंसिर २ - एकजना गोर्खा अभियन्ता ज्ञानराज राई विभिन्न माग सहित आमरण अनसन बसेको एघार दिन पुग्दा बेलायतस्थित नेपाली समुदाय बल्ल जुर्मुराएको छ । समस्त नेपालीहरुको प्रतिनिधित्व गर्ने गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नेतृत्वमा आइतबार राई अनसन बसेको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट अगाडि बेलायतवासी नेपालीहरु एकत्रित भएर आन्दोलनमा ऐक्यवद्धता जनाए । आन्दोलनकै लागि दुई हजार ९६ पाउण्ड समेत सहयोग प्रदान भएको छ ।
सभामा सहभागी एनआरएन पदाधिकारीसहित विभिन्न प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुले राईको माग जायज भएकाले यस मुद्दालाई सम्वन्धित निकायसम्म लैजाने अठोट गरे । वक्ताहरुले आ आफ्नो क्षेत्रका सांसद, मेयर तथा काउन्सिलर मार्फत गोर्खा मुद्दा सम्वन्धित निकायसम्म लैजान पहल गर्ने बताएका छन् ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगेन क्षेत्रीले गोर्खा आन्दोलनमा एनआरएनए यूकेको साथ सधैं रहने बताए । सभालाई एनआरएनए यूके राष्ट्रिय संयोजक योगकुमार फगामी, उपाध्यक्ष बालकृष्ण गुरुङ, गोर्खा सत्याग्रह लन्डन संयुक्त संघर्ष समितिका गोर्खा दूत डा. रामनारायण कङदङवा र कृष्ण राईले समेत सम्वोधन गर्दै बेलायत सरकारको मौनताप्रति आक्रोश पोखेका थिए । अल्डरसट क्षेत्रका पूर्व मेयर एवं लेवर नेता एलेक्स् क्रफोर्डले राईको अनसन तोड्ने वातावरण सृजना गर्न आफूले पहल गर्ने बताए ।
समान पेन्सन, १८ नाघेका सन्तानलाई पनि विना सर्त आवासीय अधिकार, नि:शुल्क औषधोपचार सुविधा, क्षतिपूर्ति लगायत माग राखेर राई आमरण अनसन बसेका हुन् । यसअघि १३ भिसी विजेताको नाममा १३ दिनकै रिले अनसन बस्दा पनि माग नसुनिएपछि आमरण अनसन थालिएको हो ।
तर, माग सम्वन्धमा ज जसले बोल्नुपर्ने हो, उनीहरु बोलेका छैनन् । बेलायती नागरिकको साथ भएपनि बेलायत सरकार यस सवालमा अहिलेसम्म मौन छ । अनसनस्थलमा इलिङ तथा साउथहल, हङ्स्लो, फोकस्टोन र रेडिङका सांसद पुगेर सहयोगको आश्वासन दिएपनि प्रधानमन्त्री कार्यालय वा उच्च निकायबाट कुनै प्रतिक्रिया नआएकामा भूतपूर्व गोर्खाहरु आक्रोशित छन् । यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले सेवा निवृत्त भूपू गोर्खाहरुका समस्या समाधानका लागि आफ्नो सरकार वार्ता गर्न तयार रहेको लिखित प्रतिवद्धता जनाए पनि व्यवहारमा केही नगरेको दावी गोर्खाहरुको छ । गोर्खाहरुलाई सांसद रव विल्सनले सोमबार भेट्ने कार्यक्रम छ ।
आमरण अनसनको एघार दिन बित्दा समेत ५५ वषर्ीय राई कत्ति हतास छैनन् । पानीमात्र पिएर यतिका दिन बस्दा उनी शारिरीक रुपमा गलेपनि मानसिक र नैतिक रुपमा झन् बलियो भएको बताउंछन् । 'सबैको साथ र ऐक्यवद्धताले ममा थप आत्मवल आएको छ', राईले भने, 'विगतमा हजारौं गोर्खा योद्धाहरुले बेलायती साम्राज्यका लागि ज्यान गुमाए, अहिले हाम्रै लागि देह त्याग गर्न मलाई कत्ति ग्लानी छैन् ।' समस्या समाधानका लागि बेलायत सरकारबाट लिखित प्रतिवद्धता वा आफूहरुमाथि भेदभाव भए नभएको निष्पक्ष छानवीनका लागि उच्च स्वतन्त्र न्यायिक आयोग गठन भएमा आमरण अनसन त्याग्न सकिने राईको सर्त छ ।
बेलायती अभिनेत्री जोआना लुम्लेको प्रत्यक्ष संलग्नतामा सन् २००९ को आन्दोलनले तत्कालिन बि्रटिश सरकार बि्रटिश सेनामा कम्तीमा चार वर्ष सेवा गरेका भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिन वाध्य भएको थियो । आवासीय अधिकारपछि बेलायत आएका हजारौं भूतपूर्व गोर्खाहरु अहिले यहां कष्टकर जीवन बिताइरहेका छन् । समान पेन्सन पाए आफूहरु नेपाल नै र्फकने धेरैको विश्वास छ । तस्विर सौजन्यः राजेन्द्र भट्ट


0 comments:
Speak up your mind
Tell us what you're thinking... !