|
|
|
|
सडकको एउटा गुमनाम मान्छे पुष्पकमल दाहाललाई जनयुद्ध र जनयुद्धमा बगेको पसिना, आँसु र रगतले प्रचण्ड बनायो। आश्चर्य, उनै प्रचण्ड अहिले जनयुद्धको अन्त्य र जनमुक्ति सेना विघटनको कारण बन्दै संसदीय व्यवस्थामा भव्य आर्थिक कमाउ बनेका छन्। प्रचण्ड–बाबुराम जनयुद्धभरि सपरिवार दिल्ली बसे। उनीहरूका विलासी जीवन चलाउन भन्न त जनताको मुक्तिकै लागि भनिन्थ्यो देशका अरु ठाउँ र राजधानीमा चन्दा उठाउँदा कैयौं कार्यकर्ता समातिए भने कैयौं आजसम्म बेपत्ता छन्।
दिल्ली पुर्यारउन बोरामा पैसाको भारी बोकेर हिंड्दा सयौं मारिएर शहीद भए। सीमा पार गर्दा र पार गरेपछि पनि भारतीय भूमिमा दर्जनौं समातिए र त्यहाँको जेलमा लामो समय थुनिए। जनताका छोराछोरीले उठाएको यस्तो जोखिम र बलिदानको कुनै लेखाजोखा छैन। मालिकको जीवन बिताएका प्रचण्डको परिवार भने सग्लै छ। हदैको स्खलन प्रचण्ड एशियाका धनीमध्येका राजनीतिक नेता हुन् भन्ने रिपोर्ट सार्वजनिक भएकै बेला राजधानी र राजधानी बाहिर उनको लगानीमा टावर (जस्तै मुक्ति, सीता टावर) हरू बन्दै गरेको खबरहरू सार्वजनिक भए। त्योअघि नै प्रचण्डको सुत्ने खाट, लगाउने घडी र केसमा दल्ने जेलको दामबारे चर्चा चलेको थियो। जुम्लाको चामल र जाजरकोटे च्याखुराको मासु उनको भान्सामा हुनैपर्ने चर्चा नसेलाउँदै छोरालाई सगरमाथा सयरमा दिएको दुईकरोड र नातिको नाममा ब्याङ्कमा राखेको दुईकरोडको समाचार सार्वजनिक भयो। त्यसपछि लाजिम्पाटको रातो बङ्गलाको मूल्य र स्वामित्व अनि लडाकू शिविरमा भएको आर्थिक अनियमितताबारे एमाओवादीको भृकुटीमण्डप भेलामै प्रमाणसहित कुरा उठे। जनयुद्धका नायक, पीएलएका सर्वोच्च कमाण्डर र सर्वहारा वर्गका मुक्तिदाता क.प्रचण्डबारेका माथिका खबर र तथ्य विरोधीहरूको मिथ्या हर्कत मात्र हो भन्नेहरूलाई समेत लज्जित बनाउँदै उनी जहाज चार्टर गरेर संसदीय चुनाव ‘संविधानसभा भने पनि संसद्कै चुनाव हो’ प्रचारका लागि बर्दिया पुगे, ज्ञानेन्द्र र ओवामा शैलीमा। तत्कालीन राजा बाहेक यस्तो घिनलाग्दो रवाफ अफले नदेखाएकोमा कम्युनिष्ट, त्यसमा पनि सर्वहारा माओवादीमा २४० वर्ष शासन गरेका राजा जत्रै आर्थिक हैसियत कहाँबाट आयो भन्ने प्रश्न उठ्ने नै भयो वास्तवमा, हाम्रा आफन्तहरूको रगतसँग साटिएको पैसा प्रचण्ड र एमाओवादीले संसदीय चुनाव प्रचारको निम्ति यो ढंगबाट छर्नु विकृति र स्खलन बाहेक केही होइन। गरीब किसान–मजदूरहरूलाई सत्ताको मालिक बनाउन गरिएको जनयुद्ध र यसले देखेको सपनाको हत्या यस्तो वीभत्स रुपले हुन्छ भन्ने कल्पना प्रचण्ड स्वयंले बाहेक शायदै कसैले गरेका थिए। त्यति ठूलो त्याग, समर्पण र बलिदानलाई प्रचण्ड र एमाओवादीले द्वन्द्वकाल र द्वन्द्वपीडित भनेका छन्, पुरानो सत्ताले जस्तै। जबकि, बाटो देखाउनेदेखि ज्यान फाल्नेसम्मका कामको योगबाट माओवादी यो ठाउँमा आइपुगेको हो र पुष्पकमल दाहाललाई प्रचण्ड पनि त्यसैले बनाएको हो। आफन्त र आफ्नै अंग गुमाउनेहको जीवन र दैनिकीलाई प्रचण्डको राजकीय ठाँटले नून–चूक छर्किरहेको देखाउँछ। तर, सतहमै देखिने यी पीडाले प्रचण्डको रौं पनि हल्लिएको देखिंदैन। पछुवाहरू भने फूलमाला लगाएर प्रचण्डलाई अझ् विकृतितिर जान उक्साइरहेका र थपडी बजाएर आफ्नै इतिहासको हत्यामा रमाइरहेका देखिन्छन्। त्यसैले यतिबेला प्रश्न उठ्छ, जनता र कार्यकर्ताले पसिना, आँसु र रगत प्रचण्डलाई कुवेर बनाएर विलासी जीवन जिउन सक्ने बनाउन बगाएका थिए कि जहाज चार्टर गरेर चुनावी नौटङ्कीमा नाच्न?
हाम्रो रगतसँग साटिएको पैसा प्रचण्ड उडाउँदैछन्! –लेखनाथ न्यौपाने


0 comments:
Speak up your mind
Tell us what you're thinking... !