Headlines News :
Home » » नेपाल वायुसेवा निगमले दुई महिनाभित्र नयाँ जहाज पाउने

नेपाल वायुसेवा निगमले दुई महिनाभित्र नयाँ जहाज पाउने



नेपाल वायुसेवा निगमले दुई महिनाभित्र नयाँ जहाज पाउने
काठमाडौं, ८ मंसिर । लामो समयदेखि विमानविहीन भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी दुई महिनाभित्रमा दुईवटा नयाँ जहाज पाउने भएको छ । एउटामात्र विमानका कारण ठप्पप्रायः भएको निगमको आन्तरिक सेवालाई निरन्तरताका साथै विस्तार गर्ने उद्देश्यले सरकारले विगत पाँच वर्षदेखि गरेको अथक प्रयास अन्ततः सफल भएको छ ।
चीन र नेपालका वरिष्ठ सरकारी अधिकारीहरूबीच कैयौँ चरणमा काठमाडौँ र बेइजिङमा भएका उच्चस्तरीय वार्ताको फलस्वरुप चीनले दुई वटा विमान अनुदानस्वरुप सरकारलाई उपलब्ध गराउने विषयमा सहमति भएको हो ।
चीन–नेपाल आर्थिक सहयोगअन्तर्गत चीनले १९ ‘सिट’को हार्विन वाई–१२ र ५८ सिटयुक्त एमए ६० विमान प्रदान गर्न लागेको हो । अनुदानमा विमान उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा यसैसाता हस्ताक्षर हुँदैछ । उक्त सम्झौतामा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई र अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुहुने भएको छ । दुवै देशका सरकारले उहाँहरूलाई हालै उक्त अख्तियारी दिएका हुन् ।
चीनबाट सरकारले थप चारवटा विमान खरिदसमेत गर्ने भएको छ । यसैसाता चिनियाँ एग्जिम बैंकसँग सहुलियतमा ऋण लिएर ती विमान खरिद गरिने नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले राससलाई जानकारी दिनुभयो ।
“अनुदान र ऋण सहायतासम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा एकैदिन अर्थमन्त्रालयमा हस्ताक्षर हुनेछ”, दुई सरकारबीच अनुदान सहयोग एवम् बैंकका वरिष्ठ अधिकारी र अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीले सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो ।
चीनको चालु आर्थिक वर्ष यही मङ्सिर १५ गते सम्पन्न हुने भएकाले चिनियाँ पक्षले यसै वर्षभित्र सम्झौता गर्न नेपाल सरकारलाई अनुरोध गरेको थियो । चिनियाँ अनुरोधअनुरुप सरकारले पनि मन्त्रिपरिषद्बाट उक्त प्रस्तावलाई हालै अनुमोदन गरेको हो ।
अनुदानस्वरुप प्राप्त हुने दुई वटा जहाजको मूल्य करिब रु दुई अर्ब ९८ करोड छ भने एग्जिम बैंकबाट रु तीन अर्ब ६१ करोड ऋण लिई चार वटा विमान खरिद गरिने सदस्य अर्यालले बताउनुभयो । साँवा र ब्याज गरी १३ वर्षमा निगमले एग्जिम बैंकको ऋण चुक्ता गर्नुपर्नेछ । उक्त बैंकले १.०५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने छ ।
गत कात्तिकमा चिनियाँ अधिकारीहरूसँग यहाँ भएको छलफलमा उक्त सहमति भएको थियो । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ, परराष्ट्र, कानुन मन्त्रालयका साथै नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी थिए ।
चीनमा निर्मित विमान नेपालको आकासमा उडान उपयुक्त भएको प्रमाणपत्र नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएपछि पर्यटन र अर्थमन्त्रालयले विमान खरिद एवम् प्राप्ति प्रक्रियालाई द्रुत गतिमा अघि बढाएका थिए । अनुदानमा विमान प्राप्त गर्ने तथा ऋण लिनेसम्बन्धी सम्झौता यसै साता हुने जानकारी दिँदै अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नेपाल वायुसेवा निगमको सेवा भरपर्दो बनाउन र उसको गुमेको साख फर्काउन अब सहज हुने बताउनुभयो ।
“नागरिक उड्डयनको क्षेत्रमा प्रतिस्पर्धा हुनाका साथै निजी विमान कम्पनीहरूलाई मौजुदा भाडादरमा पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना हुनेछ”, सरकारले निगमलाई नयाँ विमान उपलब्ध गराएपछि बजारमा प्रतिस्पर्धा हुने बताउँदै उहाँले भन्नुभयो । आन्तरिक पर्यटनका साथै बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले थलिएको राष्ट्रिय ध्वजाबाहकले पुनः गति लिने बताउनुभयो ।
चीनबाट खरिद गरिने विमान आगामी छ महिनासम्ममा ल्याउन मन्त्रालय लागिपरेको सहसचिव अर्यालले बताउनुभयो । विमान खरिद आदेश नदिएसम्म प्रक्रिया प्रारम्भ नहुने भन्दै उहाँले सम्झौता हुने वित्तिकै आवश्यक कार्य तत्काल अघि बढाइने दृढता व्यक्त गर्नुभयो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार