|
|
|
|
काठमाडौं, कार्तिक २९ - निर्वाचन आयोगले समानुपातिकतर्फ १ सय २२ दलले बुझाएको बन्दसूचीबाट ३ सय २ उम्मेदवारलाई अयोग्य ठहर गर्दै उनीहरूको नाम हटाएको छ । प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका प्रमुख दलहरूले समेत समानुपातिकतर्फ ३ सय ३५ उम्मेदवार कायम राख्न सकेनन् ।
प्रमुख दलहरूसहित अधिकांश साना दलको प्राविधिक असावधानीका कारण बन्दसूचीमा नाम राखेका उम्मेदवारको संख्या कटौतीमा परेको हो ।
एमाओवादीले सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका समेतलाई बन्दसूचीमा राखेका कारण समानुपातिकतर्फको उम्मेदवार संख्यामो तेस्रो स्थानमा परेको छ ।
आयोगका अनुसार अब समानुपातिकतर्फ कांग्रेसको ३ सय ३४, एमालेको ३ सय ३३ र एमाओवादीको ३ सय ३२ उम्मेदवार बाँकी रहेका छन् । यस्तै नेकपा माले ३ सय ३२, राप्रपा नेपाल ३ सय ३०, संघीय समाजवादी ३ सय ३० र राप्रपा ३ सय १८ उम्मेदवारमा सीमित हुन पुगेका छन् । दलहरूले आयोगमा नाम दर्ता गराएका ११ हजार ११ उम्मेदवारमध्ये ६ जनाले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका थिए भने अन्य २ सय ९६ जना निर्वाचन काननुअनुसार उम्मेदवार रहिरहन अयोग्य ठहरिएका हुन् । समानुपातिकतर्फको बन्दसूचीका उम्मेदवार संख्या १० हजार ७ सय ९ कायम भएको छ ।
आयोग प्रवक्ता वीरबहादुर राईका अनुसार उमेर नपुगेका कारण १ सय ४८ जनाको नाम रद्द भएको हो । सूचीमा नाम दर्ता नभएका कारण ७३ जनाको उम्मेदवारी खारेजीमा परेको छ । निर्वाचन कानुनअनुसार संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न २५ वर्ष उमेर पूरा भएको र फोटोसहितको मतदातासूचीमा नाम भएको हुनुपर्छ ।
व्यक्ति हत्याको आरोपमा सर्वोच्चबाट सजाय पाएका एमाओवादी उम्मेदवार बालकृष्ण ढुंगेलको उम्मेदवारी खारेज भएको हो । निर्वाचन कानुनमा अन्तिम अदालतबाट सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।
सरकारी लाभको पदमा भएका ४ जना समानुपातिकतर्फको प्रतिस्पर्धाबाट बाहिरिएका छ्् । त्यसैगरी प्रत्यक्षतर्फ पनि उम्मेदवार भएका १९ जनाको समानुपातिकमा परेकाले खारेज भएको छ भने समानुपातिकमै दोहोरो नाम भएका कारण ४८ उम्मेदवारको संख्या कम भएको छ । सबैभन्दा बढी उम्मेदवारी रद्द हुनेमा फोरम लोकतान्त्रिक छ । उसका ६४ उम्मेदवार सूचीबाट हटेका छन् ।
आचारसंहिता उल्लंघन र हिंसाका घटनामा कमी
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन र हिंसात्मक घटना पूर्ववर्ती निर्वाचनमा भन्दा उल्लेख्य कम रहेको दाबी गरेको छ । आयुक्त दोलखबहादुर गुरुङले शुक्रबार विशेष पत्रकार सम्मेलन गरी २०६४ को निर्वाचनको तुलनामा हिंसात्मक घटनामा करिब ३० प्रतिशतले कमी आएको दाबी गरे । उनले आचारसंहिताका पालना ९० प्रतिशत हाराहारीमा रहेको बताए ।
'सबै दलहरूले भाग लिएको अघिल्लो चुनावसँग तुलना गर्दा पनि अहिले राम्रो वातावरण बनेको छ,' उनले भने, 'तीन/चार दिनयता हिंसात्मक घटना बढेका छन् । तर यो नियन्त्रण बाहिर छैन । मतदाताले ढुक्क भएर निर्वाचनमा भाग लिन सक्ने अवस्था छ ।'
मतदानअघि निर्वाचनमै सहभागी दलहरूमध्येबाट कसैले सिर्जना गर्न सक्ने मनोवैज्ञानिक त्रासबारे पनि आयोगले सरकारको ध्यानाकर्षण गराइसकेको उनले बताए । 'दलहरूलाई स्वस्थ प्रतिस्पर्धा मात्र गर्न पटकपटक आग्रह गरेका छौं,' उनले भने ।
आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले भने हेलिकप्टर दुरुपयोगसहित आचारसंहिता उल्लंघनका घटनामा आयोगले कारबाही गर्न नसकेको आरोप लगाएको छ । जियोक अध्यक्ष हिमालयशमशेर राणाले ५५ जिल्लामा खटिएका राष्ट्रिय पर्यवेक्षकको अवलोकनका आधारमा तयार पारिएको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै शुक्रबार यस्तो आरोप लगाएका हुन् ।
'२०६४ को तुलनामा आचारसंहिता उल्लंघन दर कमी देखिए पनि हेलिकप्टर दुरुपयोग र खर्च सीमा उल्लंघनका विषयमा आयोगले प्रभावकारी कारबाही गर्न सकेको छैन,' उनले भने, 'चुनावका लागि आयोगले राम्रो तयारी गरेको देखिन्छ । तर परिचयपत्र वितवरणमा गरिएको ढिलाइका कारण समस्या उत्पन्न हुन सक्छ ।'
जियोकका महासचिव कृष्णमान प्रधानले मतपत्र छपाइमा केही त्रुटि फेला परेको उल्लेख गर्दै समयमै सावधानी अपनाउन आयोगको ध्यानाकर्षण गराए । 'कतै चि््न छुटेको, मधुरो भएको, स्वस्तिक छाप नलाग्ने खालका तरल पदार्थ टाँसिएको मत्रपत्रसमेत जिल्ला पुगेको विवरण प्राप्त भएको छ,' उनले भने, 'मतपत्रको क्रम संख्या लगायतमा भएको सानो त्रुटिले पनि ठूलो समस्या सिर्जना गर्छ ।'
राष्ट्रिय पर्यवेक्षकका रूपमा खटिएका पूर्वसचिव द्वारिक ढुंगेलले मतदाता परिचयपत्रको समस्या आयोग आफैंले सिर्जना गरेको आरोप लगाए । 'दुर्गम क्षेत्रमा एक दिन परिचयपत्र लिन र लगत्तै अर्को दिन मतदानका लागि आउन कठिनाइ हुने देखिएको छ,' उनले भने, 'एकै परिवारका सदस्यको विवरण फरक क्रमसंख्यामा हुने भएकाले मतदान केन्द्रसमेत फरक पर्न सक्छ । यसले समस्या बढाउँछ ।'
परिचयपत्र वितरण सुरु
आयोगले फोटोसहितको मतदाता परिचयपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ । निर्वाचन सामग्रीसहित १८ हजार ४ सय ५६ मतदान केन्द्र पुगेका मतदान अधिकृतसहितका कर्मचारीले शुक्रबार दिनभर परिचयपत्र वितरण गरेका हु्् । योक्रम आइतबारसम्म जारी रहने उल्लेख गर्दै आयुक्त दोलखबहादुर गुरुङले त्यसका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । 'मतदाताले आप््नो मतदानस्थलबाटै सहज रूपमा परिचयपत्र पाइरहेका छन्,' उनले भने, 'कुनै कारणले परिचयपत्र लिन नसकेमा नागरिकताको प्रमाणपत्र वा फोटोसहितको अन्य सरकारी प्रमाणपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।' उनले विगतमा भन्दा यसपटक धेरै मत खस्ने र बदर मतको प्रतिशत पनि कम हुने दाबी गरे । 'विगतमा ६ प्रतिशतभन्दा बढी मत बदर भएका २२ जिल्लाका ७१ क्षेत्रमा विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं,' उनले भने, 'ती क्षेत्रका १ हजार ५ सय ११ स्थानमा सडक नाटकसमेत प्रदर्शन गरिएको छ ।' मतदाता शिक्षाकै क्रममा 'भोट हालौं नेपाल' शीर्षकको अन्तिम कन्सर्ट शनिबार वसन्तपुरमा हुने उनले बताए ।
३३५ उम्मेदवार कायम राख्न सबै दल असफल


0 comments:
Speak up your mind
Tell us what you're thinking... !