|
![]() |
६ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले विहीबार विहान पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर मतगणना प्रक्रिया स्थथगन गरी धाँधली भएका क्षेत्रबारे पुनरावलोकन नगरिए आफूहरु संविधानसभामा सहभागी नहुने र मोहन वैद्यसँग एकता गर्ने चेतावनी दिनुभएको छ । 'मतपेटिकाहरु लुकाएर अन्त राखियो, काठमाडौं ९ मा त्रिपुरेश्वरमा दुर्घटना भयो भनियो, दुर्घटना भएकै होइन, मतपेटिका चारघण्टा लुकाएर राखियो ।' प्रचण्डले पत्रकार सम्मेलनमा भन्नुभयो-' काठमाडौं ४ मा मतपेटिकाको खसेको भन्दा बढी मत देखियो । मत पट्याएको तरिका एउटै देखियो ।' चुनावमा धाँधली भयो भन्ने दाबी गरेका प्रचण्डलाई पत्रकार सम्मेलनमा पत्रकारहरुले कहाँ-कहाँ धाँधली भयो भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले भन्नुभयो- 'सिन्धुपाल्चोकमा हाम्रा प्रतिनिधिको मोटरसाइकलको हावा खुस्काएर मतपेटिकासम्म पुग्न दिइएन । देशभरि यस्ता घटना देखिएपछि हामीलाई के लाग्यो भने यसको पुनरावलोकनका लागि आफ्नो कुरा राख्नुपर्छ । यसलाई सकारात्मक ढंगले लिनेछन् भन्ने हामीलाई विश्वास छ । नलिए संविधानसभामा हामी रहँदैनौं ।' संविधानसभामा सहभागी नभए पनि शान्ति प्रक्रिया, १२ बुँदे सहमति र शान्ति सम्झौताप्रति भने प्रतिवद्व रहँदै शान्तिपूर्ण राजनीतिमा रहेर दलहरुसँग सहकार्य गर्ने उहाँले स्पष्ट पार्नुभयो । तपाईहरुले संविधानसभामा नजाने भनेपछि वैद्य माओवादी पो सही ठहरिएन र भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो-'हामी सही हो कि बैद्यजी सही हो, हामी छिट्टै केन्द्रीय समितिको बैठक गरेर समीक्षा गरौंला ।' प्रचण्डको थप भनाइ थियो,- 'यो देशमा यसरी नै षड्यन्त्र गरेर अग्रगमनको बाटो रोक्न खोजियो भने बैद्यजीलगायत जो-जो परिर्वतनका पक्षमा छन्, उनीहरुसँग एकता हुन्छ ।' रुपन्देहीमा मतपेटिका नियन्त्रणमा लिइयो- डा. बाबुराम पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुपन्देही ४ को मतपेटिका डीएसपीको नियन्त्रणमा केही घण्टासम्म अन्यन्त्रै लगेर धाँधली गरिएको बताउँदै आपत्ति जनाउनुभयो । प्रचण्डले हार स्वीकार गर्नुपर्छ- केसी यसैवीच, काठमाडौं १० मा प्रचण्डलाई तेस्रो स्थानमा सीमित गर्दै निर्वाचन जितेका नेपाली कांग्रेसका राजेन्द्र केसीले ०६४ सालको चुनावमा आफूले प्रचण्डसँग पराजीत हुँदा हार स्वीकारेको बताउँदै लोकतन्त्रमा जीत-हार सामान्य भएकाले प्रचण्डले पनि हार स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले एमाओवादीलगायतका सबै दल मिलेर संविधान बनाउनुपर्ने बताउनुभयो । प्रचण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण विवरण २०६२ मंसीर ७ गतेको 'बाह्र बुँदे समझदारी' र २०६३ मंसीर ५ गतेको 'विस्तृत शान्ति सम्झौता' बमोजिम देशमा २०६४ चैत्र २८ गते पहिलो संविधानसभाको निर्वाचन र २०७० मंसीर ४ मा दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भएको सर्वविधितै छ । १० वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको मर्म र भावना अनुरुप संविधानसभालाई 'राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना' गर्ने माध्यमका रुपमा ती समझदारी र सम्झौतामा स्वीकार गरिएको पनि स्पष्ट नै छ । परन्तु जुन षड्यन्त्र पूर्ण ढंगले पहिलो संविधानसभाको अवसान गराइयो र दोस्रो संविधानसभाको निर्वाचन सिलसिलेवार ढंगले परिवर्तन र अग्रगमनको एजेण्डालाई कमजेार पार्ने र यथास्थितिवाद तथा प्रतिगमनको आधार मजबुद पार्ने गरी हालै सम्पन्न गरियो । त्यसप्रति हामी आफ्नो असावधानी र उदारताप्रति आत्मालोचित हुँदै आम परिवर्तनकामी जनसमुदायको ध्यानाकर्षण गर्न चाहन्छौं । दोस्रो संविधानसभा निर्वाचनको क्रममा वैधानिक रुपले निर्वाचित सरकारलाई विस्थापित गरेर अन्तरिम चुनावी सरकार गठन गर्ने, पहिलो संविधानसभाको निर्वाचनमा सहमतिले अपनाएको मतदाता सुची संकलन विधि फेर्ने आदि कुराले यो निर्वाचनलाई सुरु देखिनै शंकाको घेरामा राखेकै थियो । तैपनि संविधानसभाको यो दोस्रो निर्वाचनको वातावरण बनाउन हामीले आफ्नो तर्फबाट अधिकतम् प्रयत्न गरिएको तथा जनताको मतको सम्मान गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको तथ्य सर्वविधितै छ । तर अहिले निर्वाचनको सिलसिलामा देशव्यापी रुपमा योजनाबद्ध ढंगले दृश्य र अदृश्य धाँधलीका रुपहरु अपनाइएको, ठूलो मात्रामा आर्थिक चलखेलहरु भएको, मतपेटीकाहरु सार्ने क्रममा रहस्यमय हर्कतहरु भएको, सिल तोडिएका मतपेटीकाहरुलाई समेत स्वीकार्न पर्ने निर्देशन गरिएको, मतगणनाको क्रममा अस्वभाविक ढंगले राखिएका मतपत्रहरुको संख्या र स्वरुप फेला परेको आदि घटनाले यो निर्वाचन प्रक्रिया जनताको अभिमत र अपेक्षा विपरित धाँधलीपूर्ण र षड्यन्त्रमूलक रहेको स्पष्ट भएको छ । यो स्थितिमा हाम्रो पार्टी वर्तमान निर्वाचन प्रक्रियालाई स्थगन गरी समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानविन गरेर मात्र अगाडिको कदम निर्धारण गर्नुपर्ने निष्कर्षमा पुगेको छ । र गत राति देखिनै मतगणना प्रक्रियाबाट अलग भएको छ र यसबारे सम्बन्धित सबैलाई बेलैमा गम्भीर बन्न विशेष आग्रह गर्दछ । र जनताको पूर्ण मुक्तिको अधिकारभन्दा माथि कुनै पनि प्रक्रिया र पद्दती हुन नसक्ने कुराको स्मरण पनि गराउँदछ । साथै विगतमा भएका समझदारी र सहमति अनुसार शान्तिपूर्ण र लोकतान्त्रिक विधिद्वारा राज्यको अग्रगामी पुर्नसंरचना गर्न सबै राजनीतिक पक्षसँग वार्ता र सहकार्यको प्रक्रिया भने जारी नै रहने छ । मंसीर ६, २०७० पुष्पकमल दाहाल 'प्रचण्ड' अध्यक्ष, एकीकृत ने.क.पा.(माओवादी) केन्द्रीय समिति - संविधानसभामा नजाने प्रचण्डको घोषणा, बैद्यसँग मिल्न सक्ने -
0 comments:
Speak up your mind
Tell us what you're thinking... !