|
|
|
|
मंसिर ४ अर्थात भोली हुने दोश्रो संविधान सभाको चुनावमा मतदान गर्न कलाकारहरु पनि उत्साहित छन् । कलाकारहरुले आ आफ्नो गृहजिल्लाबाट भोट हाल्ने तयारी गरेका छन् । उसो त यसपटकको निर्वाचनले कलाकारहरुलाई एउटा न एउटा राजनीतिक दलमा आबद्ध गरिदिएको छ । तर पनि कलाकारहरुले आ आफ्नो निर्वाचन क्षेत्रबाट मतदान गर्ने तयारी गरेका छन् ।
नेपाली सिनेमाका चर्चित नायक राजेश हमालले काठमाण्डौ क्षेत्र नम्बर ६ बाट मतदान गर्नेछन् । परिचय पत्र पनि हात परिसकेको बताउने हमालले अन्य मतदाताहरुलाई पनि भोट हाल्न आग्रह गरिरहेका छन् । हमालले भिडलाई छिचोल्दै भोट हाल्न जाने बताएका छन् ।
चर्चित नायिका रेखा थापाले भने यसपटक कुनै पनि पार्टीलाई मतदान गर्न पाउने छैनन् । उनले मतदाता नामाबलीमा नाम नलेखाएका कारण मतदान गर्न नपाएकी हुन् । मतदाता नामाबलीमा नाम लेखाएको भए रेखा यतिबेला पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ एकिकृत नेकपा माओवादीको तर्फबाट चुनाव लडिरहेकी हुन्थिन् ।
नायक जीवन लुइटेलले काठमाण्डौ क्षेत्र नम्बर ९ बाट भोट हाल्ने बताए । मतदाता परिचय पत्र नलिएका जीवनले नागरिकता देखाएर भोट हाल्ने बताए । आफूले मत हालेको मानिस सही हुने विश्वास उनको छ । तर कलाकारलाई भोट हाल्दा कुनै खालको व्यवस्था नभएकाले आफुहरु उपेक्षित भएको तर्क उनको छ ।
यस्तै गायिका अञ्जु पन्तले भने कसलाई कहाँबाट भोट हाल्ने बारेमा बताउँन सकेकी छैनन् । देशको बिषम परिस्थितीले मन दुखेको बताउँदै उनले आफ्नो नाम मतदाता नामाबलीमा छ या छैन भन्ने पनि थाहा नभएको बताइन् ।
यता नायिका बेनिशा हमालले भने काठमाण्डौ क्षेत्र नम्बर ९ बाट भोट हाल्ने बताएकी छिन् । अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नम्बर ५ बाट मतदान गरेकी उनले यसपटक भने काठमाण्डौबाट नै भोट हाल्ने बताइन् । बिहानै भोट हाल्न जाँदा लामो समय लाइनमा बस्नुपर्ने बताउँदै उनले दिउँसो भोट हाल्ने तयारीमा रहेको जानकारी गराइन् ।
नायक निरज बरालको चुनावी क्षेत्र झापा ३ हो । तर यसपटक उनले भोट हाल्न जान नसक्ने प्रतिक्रिया दिएका छन् । गाडी चल्न समेत अवरोध भएकाले भोट हाल्न नपाइने छनक उनले देखाएका छन् ।
नायिका करिश्मा मानन्धरले काठमाण्डौ क्षेत्र नम्बर ३ बाट भोट हाल्दैछिन् । उनले राम्रो मानिस छानेर भोट हाल्ने बताएकी छिन् । यस्तै नायिका केकी अधिकारीले पनि क्षेत्र नम्बर ३ बाट भोट हाल्न लागेको जानकारी गराइन् । करिश्मा र केकीले पहिलो पटक मतदान गर्न लागेका हुन् ।
यता नायिका प्रियंका कार्कीले भने नेपाली कांग्रेसका नेता गगन थापालाई मतदान गर्न लागेको बताएकी छिन् । प्रियंकाले काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पार्टी भन्दा पनि व्यक्ती हेरेर भोट हाल्न लागेको बताइन् । नायक गजित बिष्टले काठमाण्डौ क्षेत्र नम्बर १ बाट मतदान गर्ने तयारी गरेको बताए । उनले राम्रो व्यक्तिलाई भोट गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यता नायक सविन श्रेष्ठले काठमाण्डौ क्षेत्र नम्बर ७ बाट मतदान गर्न लागेको बताए । पार्टी भन्दा पनि व्यक्ति हेरेर भोट हाल्ने तर्क उनको पनि छ ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !