Headlines News :
Home » » प्रेम अन्ततः शारीरिक सम्पर्क

प्रेम अन्ततः शारीरिक सम्पर्क



प्रेम सम्बन्धका अर्थले बुझिने ‘गर्लफ्रेण्ड’, ‘ब्वायफ्रेन्ड’ नभएका किशोरकिशोरी भेट्न हिजोआज मुस्किल पर्छ । बढ्दो उमेरसँगै विपरीत लिङ्गीसँग नजिक हुनु र त्यसक्रममा शारीरिक सम्पर्क हुनुलाई किशोरकिशोरीहरु प्रेमकै रुप ठान्छन् ।
तर सानो उमेरमा प्रेम र त्यो प्रेम अन्ततः शारीरिक सम्पर्कमा बदलिनु अहिलेका किशोरकिशोरीको समस्या बन्दैछ । कम उमेरको शारीरिक सम्पर्कका कारण उत्पन्न हुने मानसिक तथा शारीरिक जोखिमप्रति ध्यान नजाँदा उनीहरु आफैँले आफैँलाई समस्यामा पार्दैछन् । संयुक्त राष्ट्रसंघका अनुसार १० देखि १४ वर्षको उमेरलाई पहिलो किशोरावस्था र १५ देखि १९ वर्षको उमेरलाई दोश्रो किशोरावस्था भन्ने गरिन्छ । यो उमेर भनेको शारीरिक, मानसिक र मनोवैज्ञानिक परिवर्तन आउने समय हो ।
तर तिव्र रुपमा आउने त्यस्तो परिवर्तनलाई सहज रुपमा लिने गरी उनीहरुको मानसिक विकास भइसकेको हुँदैन । यो उमेरमा विपरीत लिङ्गीप्रतिको आकर्षण र यौन क्रियाकलाप प्रतिको चासो निकै बढी हुन्छ । शारीरिक परिवर्तन कौतुहलतासँगै प्रेम र यौन सम्बन्ध राख्नुलाई किशोरकिशोरीहरु केही गल्ती गरेजस्तो मान्दैनन् । हिजोआज इन्टरनेटको सहज पहुँचका कारण अश्लिल सामग्रीसम्मको पहुँच बढेकाले पनि बढ्दो उमेरका केटाकेटीलाई त्यसले आकर्षित गर्ने गरेको चिकित्सकहरु बताउँछन् ।
कौतुहलताकै कारण हुनसक्छ ,पछिल्लो समयमा त अझ किशोरकिशोरीहरु ‘गु्रपसेक्स’ र ‘पाटर्नर चेन्ज’ सम्मका गतिविधिमा पनि अग्रसर देखिएका केही घटनाहरु सार्वजनिक नभएका होइनन् । तर एकातिर शरीर परिपक्व नहुँदै गरिने यौन सम्पर्कले शारीरिक समस्या निम्त्याउने त छँदैछ, त्यसपछि आईपर्ने विभिन्न खाले चुनौती सामना गर्न उनीहरु सक्षम नहुँदा अझ धेरै जोखिम बढ्दो छ ।
प्रविधिको विकास तथा स्कूल कलेजमा पाइने ज्ञानका कारण यौन र प्रजनन स्वास्थ्य तथा समस्याका बारेमा अहिलेका कमै किशोरकिशोरी बेखबर छन् । यसबाट विशेष गरी किशोरीहरु आफैँले आफैँलाई जोखिममा पार्दैछन् भन्नुहुन्छ, प्रजनन स्वास्थ्य सम्बन्धी डाक्टर अरुणा उप्रेती ।
अधिकांश किशोरकिशोरी यौनसम्पर्क निजी मामिला भएको भन्दै यसमा कसैले पनि बढी चासो दिइरहन जरुरी नभएको बताउँछन् । आफ्नो शरीरमा आफ्नो अधिकार रहेकाले चाहेको काम गर्न पाउनुपर्ने उनीहरुको तर्क हुन्छ ।
तर डाक्टर उप्रेतीको भनाइमा शरीरको अधिकारको कुरा गर्नेले आफ्नो शरीर र स्वास्थ्य राम्रो राख्नुपर्छ भन्ने दायित्व बिर्सेका छन् । गाउँघरतिर सानै उमेरमा विहे गरेर बच्चा जन्माउन सामाजिक दबाब छ । जसका कारण उनीहरु यौनसम्पर्क गर्न र बच्चा जन्माउन बाध्य हुन्छन् ।
तर शहरी क्षेत्रका १३/१४ वर्षका किशोरकिशोरी जसलाई विवाह गर्नुपर्ने दबाब छैन, उनीहरुले रहर र कौतुहलताले स्कूलमै पढ्दा यौनसम्पर्क गर्ने क्रम एकदमै बढेको छ । डाक्टर उप्रेती भन्नुहुन्छ ‘सामान्य रुपमा किशोर किशोरीहरुले आफूले मन लागेको मान्छेसँग प्रेम र यौनसम्पर्क गर्न पाउनुपर्छ भन्ने कुरा गर्ने गरेका छन् । त्यो जायज पनि हो, तर यसका लागि उमेर त पुग्नुपर्यो नि !’
बढी मार किशोरीलाई
कम उमेरमा गरिने यौनसम्पर्कको सबैभन्दा बढी मार किशोरमा भन्दा किशोरीमा पर्छ । शारीरिक सम्बन्ध राखिसकेपछि किशोरहरु यसबाट सजिलै पन्छिने र उम्किने गर्छन् ।
आवेशमा अकस्मात सम्पर्क हुने भएकाले गर्भनिरोधका सामग्री प्रयोग नगर्दा किशोरीलाई नै बढी मार पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६ प्रतिशत किशोरीले यौनसम्पर्कका बेला परिवार नियोजनका साधन प्रयोग नगरेको पाइएको छ ।
असुरक्षित सम्पर्क भएको अवस्थामा गर्भ रहे गर्भपतन गराउनुपर्ने या गर्भधारण गर्नुपर्ने समस्या किशोरीहरुले नै झेल्नुपर्छ । असुरक्षित गर्भाधान, गर्भपतन या किशोरावस्थामै आमा बन्ने जोखिम किशोरीलाई नै हुन्छ ।
यस्तो अवस्थामा सामाजिक र पारीवारिक पीडा खेप्नुपर्ने त छँदैछ । विभिन्न स्वास्थ्य समस्यामा पर्ने डर समेत हुन्छ । त्यस्तो अवस्थाबाट जोगिनका लागि ‘ईमर्जेन्सी पिल्स’ प्रयोग गर्छु भन्नेहरु पनि ढुक्क हुने अवस्था नरहेको डाक्टर उप्रेती बताउनुहुन्छ ।
कहिलेकाँही प्रयोग गर्नुपर्ने आपतकालिन गर्भनिरोधक औषधी हप्तामा दुई तीनपल्ट प्रयोग गर्दा दीर्घकालिन रुपमा नकारात्मक असर पर्ने उहाँको भनाइ छ । पारिवारीक र सामाजिक रुपमा बद्नाम हुने डरले सबै किशोरीहरु सुरक्षित गर्भपतनको पहुँचमा पुग्न सक्दैनन् । अर्कोतर्फ सबै सुरक्षित मानिएका सबै गर्भपतन पनि सुरक्षित नहुन सक्छन् ।
सानो उमेरमा शरीर परिपक्व भइनसकेको अवस्थामा दक्ष चिकित्सकबाट गरिने गर्भपतनले पनि कहिलेकाँही जोखिम निम्त्याउन सक्ने डा उप्रेती बताउनुहुन्छ । असुरक्षित गर्भपतनले विभिन्न खाले संक्रमण हुने, पाठेघरको क्यान्सर हुने, पछि गएर बच्चा नहुने जस्ता समस्याबाट गुज्रिनुपर्छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार गएको वर्ष स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको संख्या ९५ हजार रहेकोमा ती मध्ये २५ प्रतिशत किशोरी छन् ।
अशिक्षित, गरीब र ग्रामिण भेगका किशोरी असुरक्षित यौनसम्पर्कका कारण सानै उमेरमा आमा बन्ने गरेका छन् । तर शहरी क्षेत्रका किशोरी भने गर्भपतन गराउँछन् ।
मन्त्रालयले गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षणले शहरी क्षेत्रमा गर्भ रहन गई विवाह गर्न बाध्य युवक र युवतीको प्रतिशत शुन्य देखाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १५ देखि १९ वर्षसम्मका १७ प्रतिशत महिला किशोरावस्थामा गर्भवती हुने गरेका छन् । २० वर्ष उमेर नपुग्दै आमा बनेमा मातृ मृत्युदर ६० प्रतिशत भन्दा बढी हुने सम्भावना हुन्छ ।
व्यक्तिगत विषय मात्रै होइन
यौन सम्पर्कको विषयलाई किशोरकिशोरीले आफ्नो निजी निर्णयका रुपमा लिने गरेका छन् । तर त्यसका कारण हुने पारिवारीक, सामाजिक र आर्थिक विकासमा अवरोधको पाटोलाई भने ध्यान नदिईएको पाईएको डा उप्रेती बताउनुहुन्छ ।
त्यसमा किशोरकिशोरीको मात्रै दोष छैन । उनीहरुलाई जोखिमको पाटोबारे जानकारी त छ, तर यसबाट बच्ने, गर्भ रह्यो या गर्भ रहन नदिनलाई के गर्ने भन्ने खुलेर भन्ने अवस्था भने गाउँमा मात्रै होइन शहरमा पनि छैन । यसबारेमा अभिभावकले नै आफ्ना छोराछोरीलाई यौनशिक्षा दिनु जरुरी हुने चिकित्सकहरुको सुझाव छ ।
यस्तै किशोरावस्थामा यौन सम्पर्क र गर्भाधानको विषय शारीरिक मात्रै नभई मानसीक स्वास्थ्यसंग गाँसिएको हुनाले सम्ब्न्धित क्षेत्रका स्वास्थ्यकर्मीका भूमिका पनि यसमा धेरै महत्वपूर्ण हुन्छ । किशोरीहरुको शरीर १९/२० वर्षमा मात्रै परिपक्व हुन्छ ।
त्यस्तै उनीहरु विस्तारै मानसिक रुपमा पनि परिवक्व हुँदै जाने भएकाले त्यसपछि मात्रै यौनसम्पर्क वा गर्भधारणमा ध्यान दिने हो भने उनीहरुको स्वास्थ्य मात्रै होईन, आर्थिक सामाजिक पक्ष पनि सबल हुने देखिन्छ । स्वास्थ्य मन्त्रालयले पनि सानै उमेरमा यौनसम्पर्क गर्ने प्रवृत्ति पछिल्लो समय ह्वात्तै बढेको भन्दै स्कूल कलेज पढ्ने बेलामा प्रेम र यौनमा मात्रै बढी ध्यान दिँदा पढाई बिग्रने मात्रै नभई शारीरिक र मानसीक समस्या हुने भन्दै यसप्रति अभिभावकलाई सचेत हुन आग्रह गरेको छ ।
सँगै हिँडडुल गर्दा, एकछिनको आकर्षणले प्रेममा परेजस्तो हुन्छ, । किशोरावस्थामा यो स्वाभाविक पनि हो । तर प्रेम हुनुको अर्थलाई सिधै गएर यौनसम्पर्कसँग जोड्दा शारीरिक र मानसिक तनाव झेल्नुपर्ने कुराप्रति भने किशोरकिशोरीहरु चनाखो हुनु जरुरी छ ।
-उज्यालोबाट

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार