|
|
|
|
१९ असोज, काठमाडौं । पाँच हजारभन्दा बढी कामदार रहेको मुलुकमा सरकारले श्रम सहचारी राख्नुपर्ने कानुनी व्यवस्था भए पनि ६ वटा मुलुकमा सरकारले सहचारी राख्न सकेको छैन । पाँच हजार भन्दा बढी कामदार रहेका मुलुक बहराइन, जापान, लेवनान, ओमन, इजराइल र अफगानिस्तानमा सरकारले सहचारी नियुक्त गर्न सकेको छैन । बजेट अभावमा सहचारी पठाउन नसकिएको श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जनाएको छ । सरकारले कम्तीमा अधिकृतस्तरको कर्मचारीलाई सहचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ । ६ देशमा नियुक्त भएका सहचारीले दूतावास कार्यालयबाट सेवा दिने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, बहराइनमा ३३ हजार, ओमनमा १७ हजार, लेवनानमा १० हजार, इजराइलमा ७ हजार, अफगानिस्तानमा ६ हजार र जापानमा ५ हजार ५ सय जना श्रमस्वीकृति लिएका नेपाली रहेका छन् । अहिलेसम्म सरकारले कतार, मलेशिया, साउदी अरब, कुवेत, संयक्त अरब इमिरेट्स र दक्षिण कोरियामा मात्र सहचारी पठाएको छ । मलेसियामा ७ लाख ७३ हजार, कतारमा ६ लाख ९० हजार, साउदीमा ५ लाख र यूएईमा ३ लाख १३ हजार कार्यदरत छन् । श्रम स्वीकृति लिएका करिब २५ लाख युवा विदेशमा रहेको अनुमान छ । सरकारले संसारका १ सय ८ मुलुकमा कामदारको लागि श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । सरकारले कामदारलाई आवश्यक सहयोग गर्न सहचारी नियुक्तिको व्यवस्था गरेको हो । नेपालबाट जाने दुई तिहाईभन्दा बढी कामदार अदक्ष छन् । अधिकांश नेपाली कामदार अशिक्षित भएको कारण कानुनले पाएको अधिकारबाट समेत बञ्चित भई श्रम र आर्थिक शोषणमा पर्ने गरेको गुनासो आइरहन्छ । बढी कामदार रहेको मुलुकमा एक मात्र सहचारी अधिकृतले दिने सेवा अपर्याप्त भएको कामदारहरुको प्रतिक्रिया छ । कतारमा टोली जाने यसैबीच, सरकारले कतारमा नेपाली कामदार माथि भएको श्रम शोषणबारे बुझ्न टोली पठाउने भएको छ । बेलायतको द गार्जियनले सन् २०२२ मा विश्व कप फुटवल सञ्चालनको लागि रंगशाला निर्माण गरिरहेको कतारमा नेपाली कामदारलाई दाससरह व्यवहार गरेको समाचार प्रकाशन गरेको थियो । कतारमा नेपालीको व्यापाक शोषण भएको समाचार प्रकाशन भएको साता दिन बित्दा बल्ल सरकारले चासो देखाएको हो । परराष्ट्र, अर्थ, कानुन र श्रम मन्त्रालयका प्रतिनिधिसहित कतारमा टोली पठाउने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ । कर्मचारीहरुले विदेश घुम्ने अवसरको रुपमा नलिई यथार्थ विवरण ल्याउने गरी टोलीले कार्य गर्नुपर्ने कतारमा कार्यरत नेपालीले बताएका छन् । कतारमा हाल कार्यवहाक राजदूत गणेश ढकाल कार्यरत हुनुहुन्छ । तत्कालीन राजनूत मायाकुमारी शर्मालाई कतार सरकारको दबाबपछि सरकारले पदमुक्त गरेको हो । शर्माले कतार विदेशी कामदारको लागि खुला जेल भएको अभिव्यक्ति दिएपछि त्यहाँको सरकारले कुटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो



0 comments:
Speak up your mind
Tell us what you're thinking... !