|
|
|
|
काठमाडौं, १८ पुस (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेता डा.बाबुराम भट्टराईलाई पार्टी नफुटाल्न आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले विहीबार बिहान भट्टराईलाई टेलिफोन गरी त्यस्तो आग्रह गरेका हुन् ।
पार्टीको समानुपातिक सूचीलाई लिएर भइरहेको विवादका बिच भट्टराई पक्षले पार्टीबाट अलगिने चेतावनी दिएको भन्दै विहीबारका अखबारमा खबर आएपछि प्रचण्डले भट्टराईलाई टेलिफोनमार्फत त्यस्तो आग्रह गरेको स्रोतले बताएको छ । जवाफमा भट्टराईले पार्टी फुटाउन आफूहरु भन्दा अध्यक्ष पक्ष बढि लागेको भन्दै त्यसलाई रोक्न भनेका थिए ।
‘विवादका विषयलाई छलफलबाट लैजान सकिन्छ, सानो कुरामा पार्टीबाटै अलग हुने भन्ने कुरा हुँदैन’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘जे गरेपनि पार्टी भित्र गरौँ, पार्टीलाई फेरि फुटाल्ने कुरा नगरौँ ।’
अध्यक्ष प्रचण्डले सूची सच्चाउँदा पार्टीबारे बाहिर गलत सन्देश जाने भएकोले अरुनै तरीकाबाट विवादलाई समाधान गर्नुपर्ने प्रस्ताव गरेका छन् । अरुनै तरिका भन्ने प्रष्ट नभएपनि पार्टीको सांगठानिक महाधिवेशनमा ‘पदीय लेनदेन’ हुनसक्ने भट्टराई पक्षका एक नेताले बताए ।
तर भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठले समानुपातिक सूची नसच्चाए नेतृत्व विरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् । विहीबार सूची सच्चाउने अन्तिम दिन भएकोले माग अनुसार नभए २६ गतेबाट हुने केन्द्रीय समिति बैठकमा एकभएर विरोध गर्ने निष्कर्षमा असन्तुष्ट दुवै पक्ष पुगेका छन् ।
विहीबार बिहान नेता श्रेष्ठको निवास हात्ति वनमा दुवै पक्षका नेताहरुबीच छलफल भएको थियो । छलफलमा पार्टीबाट अलगिने भन्दा पनि संघर्ष गर्ने निचोडमा नेताहरु पुगेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । बुधबार अध्यक्ष प्रचण्डले सूची सच्चाउन नमानेको भन्दै बरिष्ठ नेता डा.भट्टराईले मिलेर पार्टीबाट बाहिरिन अर्का नेता श्रेष्ठलाई प्रस्ताव गरेका थिए । तर श्रेष्ठले अस्वीकार गरेपछि पार्टी भित्रै संघर्ष गर्ने निष्कर्ष निकालिएको हो ।
बैठक स्रोतका अनुसार अध्यक्ष दाहाललाई केन्द्रीय समिति बैठकमा अल्पमतमा पार्न उनी पक्षधर असन्तुष्ट सदस्यलाई पनि मनाउने प्रयास भट्टराई–श्रेष्ठ पक्षले गर्ने भएको छ । एमाओवादीको अहिलेको विवादलाई धेरैले धोवीघाट गठबन्धनसँग तुलना गरेका छन् । तत्कालिन उपाध्यक्षहरु मोहन वैद्य, भट्टराई र श्रेष्ठ मिलेर २०६८ भदौमा प्रचण्डलाई अल्पमतमा पारेका थिए । त्यही गठबन्धनको सफलता पछि भट्टराई प्रधानमन्त्रीको उम्मेदवार हुँदै देशको कार्यकारी प्रमुख भएका थिए ।
भट्टराई पक्ष नेता देवेन्द्र पौडेलले केन्द्रीय समिति बैठकमा अध्यक्षको निर्णय विरुद्ध प्रस्ताव लैजाने तयारी भएको जानकारी दिए । ‘सूची सच्चाउने सम्भावना कम भएकोले केन्द्रीय समितिमा त्यसविरुद्ध प्रस्ताव लैजाने तयारी भएको छ’ राजधानी बाहिर रहेका पौडेलले टेलिफोनमा भने, ‘पार्टीलाई संस्थागत निर्णयको आधारमा अघि लैजाने वा व्यक्तिको निर्णयमा लैजाने भन्ने कुरा त्यहीँ बैठकमा हुन्छ ।’ तर उनले पार्टी फुटाउन तयारी नगरेको बताए ।
‘बाबुरामजी पार्टी चाँही नफुटाउनुस’– प्रचण्ड


0 comments:
Speak up your mind
Tell us what you're thinking... !