Headlines News :
Home » » गाई ठानेर गोरुलाई भोट

गाई ठानेर गोरुलाई भोट



अघिल्लो संविधानसभा निर्वाचनमा पाँचौ दलको रुपमा निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) यसपाला अरु मधेसवादी दलहरुजस्तै खस्किएको छ। प्रत्यक्षमा ४ सिट जितेको पार्टी समानुपातिक तर्फको अहिलेसम्मको गणनामा दशौं बरियतामा पनि छैन।

एक तिहाइ भोट गनिसक्दासम्म उसले समानुपातिकमा कडै धक्का बेहोर्नुपर्ने देखिएको छ। महन्थ ठाकुर नेतृत्वको पार्टीले समानुपातिक तर्फको सोमवार बिहानसम्ममा २७ लाख मत गणनामा ३० हजार चानचुन मतमा चित्त बुझाउनुपरेको छ।

मधेस मुद्दामा खरो रुपमा पेश भएको दावा गर्ने दलको मत मधेसमा पहिले भन्दा निकै घटेको छ। बरु यो पार्टीले काठमाडौं उपत्यका लगायत पहाडी भेगमा अघिल्लो निर्वाचन भन्दा तीन÷चार गुणा भोट बढाएको छ।

अहिलेसम्म प्राप्त मतगणनाको नतिजा केलाउँदा समानुपातिक तर्फ राप्रपा नेपालको लहर चलेको ठाउँमा यो पार्टीले पहिले भन्दा निकै बढि मत बढाएको छ। त्यति मात्र हैन प्रत्यक्षमा यो पार्टीको उम्मेदवारले पाए भन्दा समानुपातिकमा दुई देखि चार गुना भोट ल्याएका छन्।

राप्रपा नेपाल समानुपातिकमा पहिलो, दोस्रो, तेस्रो वा चौथो भएको क्षेत्रमा तमलोपा पनि ठ्याक्कै ताल मिलाएर पाँचौं, छैटौं, सातौं वा आठौं भएको छ।

राप्रपा नेपालको चढाव वा उतार ठ्याक्कै तमलोपासँग किन मिल्यो त?

मतगणनाको नतिजा केलयो भने सजिलै निश्कर्षमा पुग्न सकिन्छ– दुई पार्टीको चिन्ह गाई र जोडा गोरु झट्ट हेर्दा उस्तै देखिन्छ। दुवै दलको चिन्ह मतपत्रको सिरानमा पहिलो ‘रो’ मै छ। गाई तेस्रो र  जोडा गोरु छैटौंमा।

यी दुई पार्टी भोटको अहिलेसम्को तथ्याङ्क केलायो भने अरु रोचक तथ्यहरु पनि फेला पर्छन्। काठमाडौंका धेरै क्षेत्रमा तमलोपा (गोरु)ले संघीय समाजवादी, नेपाः पार्टी लगायतलाई उछिनेर पाँचौं भएको छ।

एमालेबाट अग्गिएका नेताहरुले बनाएको संघीय समाजवादी र नेपाः पार्टीको केन्द्रविन्दु पनि काठमाडौं नै हो।
काठमाडौं १ लाई नै हेरौं। समानुपातिकमा राप्रपा नेपाल पहिलो भएको छ। त्यसपछि क्रमश कांग्रेस, एमाले, माओवादी र राप्रपा नेपालपछि तमलोपा मत पाएको छ।

तमलोपाले काठमाडौंका सबै क्षेत्रमा प्रत्यक्षमा पनि उम्मेदवारी दिएको थियो। पहाडिया मूलका ती उम्मेदवारले दुई सय भन्दा धेरै मत पाएका छैनन्। र, उनीहरुको बरियता आठौं भन्दा पछाडि छ।

राप्रपा नेपालकै अध्यक्ष कमल थापाको गृह जिल्लामा तमलोपालाई झन् बढी फाइदा भएको छ। तमलोपाले प्रत्यक्ष उम्मेदवार नै नदिएको त्यो जिल्लाबाट गोरुले समानुपातिकमा झण्डैं २५ सय मत पाएको छ।

जबकि मकवानपुरका सबै क्षेत्रमा लोकतान्त्रिक फोरम र फोरम नेपालले दोहोरो अंकमा मत कटाएका छैनन्।

मधेसमा तमलोपाको प्रभाव अझ कायम रहेको जिल्लाका मतदाताले पनि झुक्किएर गाईमा छाप लगाएका हुन सक्छन्। तर गोरु ओरालो लागेको गाईको लहर आएको बेला भएकाले समग्रमा राप्रपा नेपालको भोट चुहिएर गएको छ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार