|
|
|
|
कुनै पनि नाराले त्यस दलको लक्षलाई प्रतिनिधित्व गरेको हुन्छ । साथै निर्वाचनका बेला भावी प्रधानमन्त्री या राष्ट्रपतिका रुपमा नेतृत्वलाई समेत प्रस्ताव गर्ने प्रचलन विदेशमा रहेको पाइन्छ । नेपालमा हुन गइरहेको दोस्रो संविधानसभाको निर्वाचनका लागि विभिन्न दलहरुले आ-आफ्ना चुनावी नारा तय गरेका छन् । चुनावपछिको नेतृत्वका विषयमा भने एकाधबाहेक सबै दलले बोलेका छैनन् । केही प्रमुख दलहरुले जनतासमक्ष अघि सारेका चुनावी नारा यस्ता छन् :
एमाओवादी
पहिचानसहितको संघीयता पक्षधरलाई दूई तिहाई मत !
स्थिर सरकारका लागि एकिकृत माओवादीलाई पूर्ण बहुमत !
नेतृत्व- एमाओवादीले पार्टी अध्यक्ष प्रचण्डलाई राष्ट्र नेताका रुपमा प्रस्तुत गरेको छ । अघिल्लो चुनावमा प्रचण्डलाई 'भावी राष्ट्रपति' का रुपमा उभ्याइएको थियो । यसपालि प्रचण्डलाई कार्यकारी राष्ट्रपति र बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रुपमा उभ्याइने एमाओवादीभित्र चर्चा छ ।
नेपाली कांग्रेस
पहिचान र सामथ्र्यसहितको संघीय संविधान !
लोकतान्त्रिक गणतन्त्र कांग्रेसको अभियान !
नेतृत्व- नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भावी प्रधानमन्त्रीका रुपमा कसैलाई प्रस्तुत गरेको छैन । उसले शासकीय स्वरुपमा कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको व्यवस्था गरेको छ । कांग्रेसका भावी प्रधानमन्त्रीमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल दाबेदार हुनुहुन्छ ।
नेकपा एमाले
सही नीति एमालेको,
सबल र समृद्ध नेपाल निर्माणका लागि एमालेकै नेतृत्व !
नेतृत्व- एमालेले जसको नीति उसको नेतृत्व भने पनि भावी प्रधानमन्त्रीको नेतृत्वका लागि व्यक्ति तोकेको छैन । एमालेमा भावी प्रधानमन्त्रीका दावेदार झलनाथ खनाल, माधव नेपाल र केपी ओली हुनुहन्छ ।
मधेसी जनाधिकार फोरम, नेपाल
आत्मनिर्णयको अधिकार, स्वायत्त मधेस प्रदेश, राष्ट्रिय पहिचान !
समावेशी लोकतन्त्रसहित संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान !
नेतृत्व- मधेसी जनाधिकार फोरम नेपालले घोषणापत्रमा शासकीय स्वरुपमा जनताद्धारा प्रत्यक्ष निर्वाचित एकल कार्यकारी राष्ट्रपतिको परिकल्पना गरेको छ । तर, उसले त्यसका लागि आफ्नो दलबाट कसैको दाबा गरेको छैन । फोरम नेपालमा उपेन्द्र यादव नै निर्विकल्प नेता रहँदै आउनुभएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी
पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान !
संविधानसभाबाट संविधान, तमलोपाको अभियान !
नेतृत्व- तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो घोषणापत्रमार्फत कार्यकारी प्रधानमन्त्री र अलंकारिक राष्ट्रपतीय व्यवस्थाको परिकल्पना गरेको छ । यद्यपि उसले दलको नेतालाई भावी नेतृत्वको रुपमा प्रस्ताव गरेको छैन । पार्टी अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमनत्रीका उम्मेद्वारका रुपमा हेर्ने गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
'हलो' चिन्हमा मतदान-शान्ति सुरक्षा, रोजगारी र संविधान !
नेतृत्व- राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित तथा संसदप्रति जवाफदेही कार्यकारिणी अधिकारयुक्त प्रधानमन्त्री रहने द्वीसदनात्मक व्यवस्था भएको शासकीय स्वरुपको परिकल्पना गरेको छ । यो दलले सरकार बनाउने अवस्था आएमा सूर्यबहादुर थापा शीर्षनेता मानिनुहुन्छ ।
संघीय समाजवादी पार्टी नेपाल
यथास्थितिवादी र पहिचान विरोधीहरुलाई हराऔं !
पहिचानसहितको संघीय संविधान निर्माण गरौं !
नेतृत्व- संघीय समाजवादी पार्टीले आफ्नो घोषणापत्रमा आलंकारिक राष्ट्रपति राष्ट्रप्रमुख हुने तथा संघीय तल्लो सदनबाट बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गरी कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित हुने संसदीय प्रणालीको परिकल्पना गरेको छ । यो दलका नेता अशोक राई हुनुहुन्छ । तर, पार्टीले अध्यक्ष राईलाई भावी राष्ट्रपति या प्रधानमन्त्री केही पनि घोषणा गरेको छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
सनातन हिन्दू राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र,
राष्ट्रिय अखण्डता र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गरौं !
नेतृत्व- राप्रपा नेपालले आफ्नो घोषणापत्रमा राष्ट्र प्रमुखको रुपमा राजालाई प्रस्तुत गरेको छ । उसले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको परिकल्पना गरेको छ । नेतृत्वबारे राप्रपा नेपालले केही नभने पनि सरकार सो पार्टीले सरकार बनाउने अवस्था आए प्रधानमन्त्रीको दाबेदारमा पार्टी अध्यक्ष कमल थापालाई हेरिएको छ ।
मधेसी जनाधिकार फोरम, लोकतान्त्रिक
पहिचानसहितको शक्तिशाली संघीय संविधान !
यही हो लोकतान्त्रिक फोरमको चुनावी अभियान !
नेतृत्व- मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकले समावेशी संसदले चुन्ने कार्यकारी अधिकारसहितको प्रधानमन्त्री तथा केन्द्रीय संसद र प्रदेश सभाहरुले छान्ने केही अधिकारसहितको राष्ट्रपती हुने संसदीय व्यवस्थाको परिकल्पना गरेको छ । र, यो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले घोषणापत्रमा नलेखे पनि भावी प्रधानमन्त्रीका रुपमा आफूलाई उभ्याउँदै आउनुभएको छ ।
सद्भावना पार्टी
प्रान्त के लिए संकल्प लिया है, २२ वर्ष संघर्ष किया है !
आइये अपना प्रान्त बनावें, तीर छाप पर मोहर लगावें !
नेतृत्व- सद्भावना पार्टीले दुई सदनात्मक संसदीय व्यवस्थाको परिकल्पना गर्दै दुवै सदनबाट चयन गरिने कार्यकारी प्रधानमन्त्रीको व्यवस्था घोषणापत्रमा उल्लेख गरेको छ । सो पार्टीले प्रदेशको व्यवस्थापिकाका र केन्द्रीय व्यवस्थापिकाका दुवै सदनका प्रतिनिधिमार्फत् चयन गरिने आलंकारिक राष्ट्रपति रहने परिकल्पना गरेको छ । सद्भावना पार्टीले भावी प्रधानमान्त्रीको दाबी गरेको छैन । तर, सरकारमा जानुपर्ने अवस्थामा यो दलका एकमात्र नेता राजेन्द्र महतो हुनुहुन्छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !