|
|
|
|
२१ कात्तिक, काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन बिथोल्न नेकपा-माओवादीले आहृवान गरेको बन्द फिर्ता नभएमा मुलुकको अर्थतन्त्रमा २० अर्बको क्षती हुने नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । माओवादीको नेतृत्वमा रहेका ३३ दलले यहि २५ गतेदेखि १० दिने आम हड्ताल तथा नेपाल बन्द गर्ने चेतावनी दिएका छन् । ‘एक दिनको नेपाल बन्दले मुलुकको अर्थतन्त्रमा २ अर्ब रुपैयाँ भन्दा बढीको क्षति हुने हाम्रो आंकलन छ’ महासंघद्धारा बिहीबार जारी विज्ञप्तीमा भनिएको छ- ‘नेपाल बन्द र आम हडतालजस्ता कार्यक्रम गरेर मुलुकलाई अझ ठूलो धरापतर्फ नधकेल्न महासंघ गम्भीर आग्रह गर्दछ ।’ बन्द हड्तालजस्ता कार्यक्रमले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्ने नैसर्गिक मानव अधिकारको हनन मात्र हुने नभई कतिपयको जिविकोपार्जनमा नै गम्भीर नकारात्मक असर पार्ने महासंघले बताएको छ । कुनै पनि समस्याको समाधान बन्द तथा हड्तालजस्ता गतिविधिबाट हुन नसक्ने उल्लेख गर्दै महासंघले उद्योगी व्यवसायी नेपाल बन्दको विपक्षमा उभिने बताएको छ । ‘बन्दका कार्यक्रमले दैनिक मजदूरीमा काम गर्ने मजदूरको जिविकोपार्जनको माध्यम हनन गर्दछ भने तरकारी खेती गरी दिनदिनै बजारमा तरकारी बेच्ने किसानको पसिना त्यसै खेर जान्छ’ विज्ञप्तीमा भनिएको छ । मुलुकभित्र निर्वाचन हुन लागेकोमा उद्योगी व्यवसायी लगायत आम नेपाली हषिर्त भइरहेको बेलामा राजनीतिक दल र तीनका नेताहरुमा कुरा मिल्न नसक्दा पुन बन्द र हिंसाको संस्कृति मौलाउन थालेको भन्दै महासंघले गुनासो पोखेको छ । नेपालका राजनीतिक दल र तीनका नेताहरुले जनताको चाहना बुझ्न नसकेको र जनतालाई चेपुवामा पार्न खोजेको प्रष्ट हुने महासंघले आरोप समेत लगाएको छ । विभिन्न कारणले नेपाल आर्थिक रुपमा पछि पर्दै जानुका साथै अन्तर्राष्ट्रिय रुपमा नै अप्रतिस्पर्धी अर्थतन्त्रात्मक मुलुक बन्दै गएको विभिन्न तथ्याङ्कहरुले पुष्टि गर्दछन् । यति हुँदाहँुदै पनि नेपालको अर्थतन्त्रलाई उन्नति र प्रगतिको पथमा लैजान र नेपाललाई लगानीको आकर्षक थलो बनाउनका लागि महासंघले प्रयास गर्दै आएको छ । अहिलेको चरम प्रतिस्पर्धाको यूगमा नेपाल अझ पछि पर्ने हो भने कहिल्लै उकासिन नसक्ने गरी अर्थतन्त्र भासिने खतरा बढेको महासंघको ठहर छ । ठूलो मात्रामा पूँजी बाहिरिने र अहिले नै रोजगारीको अवसर नभएका कारण विदेशमा अति निम्नस्तरको काम गर्न जान बाध्य नेपालीहरुका लागि कुनै विकल्प नै नरहने निश्चित छ । कहाली लाग्दो परिस्थितिमा मुलुकलाई नधकेल्न र सार्थक वार्ताद्वारा आन्दोलरत पक्षका मुद्दाहरुको यथोचित राजनीतिक संबोधन हुने गरी समस्या समाधान गर्न महासंघले सरकार तथा जिम्मेवार राजनीतिक दलहरुलाई आग्रह गरेको छ । परिसंघको पनि विरोध यसैबिच, नेपाल उद्योग परिसंघले पनि बन्द तथा आम हड्तालको विरोध गरेको छ । लामो समयदेखी संक्रमण कालबाट गुजि्ररहेको नेपालमा समय समयमा हुने बन्द, हडताल, अवरोध, असुरक्षा र अनिश्तिताका कारण औद्योगिक क्षेत्र आक्रान्त भएको परिसंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ । बन्द हड्तालजस्ता गतिविधिहरुले बैदेशिक लगानीमा प्रतिकुल असर पार्नुका साथै रोजगारीको खोजीमा दैनिक हजारौंको संख्यामा नेपाली युवाहरु बिदेशिन बाध्य बनाउने परिसंघले बताएको छ । श्रम अशान्ती, बन्द-हडताल, लोडसेडिङ र चन्दा आतंकको मारबाट नेपालका औद्योगिक प्रतिष्ठानहरु बिदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेर आफ्नो व्यवसायिक क्षमता गुमाउँदै गइरहेका छन् । यस्तो विषमः परिस्थितिमा नेपालको राजनीतिक समस्याको समाधन नेपाल बन्द, हडताल वा अबरोधबाट हुन नसक्नेतर्फ परिसंघले ध्यानाकर्षण गराएको छ । -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !