|
|
|
|
काठमाडौ, कार्तिक २६ - एमाले पोलिट्ब्यूरो सदस्य एवं निर्वाचन परिचालन कमिटीका प्रचार संयोजक प्रदीप नेपालले एमाओवादीले प्रतिव्यक्ति एक लाख रुपैयाँमा मतदाता खरिद सुरु गरेको आरोप लगाएका छन् ।
राजधानीमा मंगलबार अनलाइन पत्रकारहरुसँग कुरा गर्दै उनले चुनाव हार्ने निश्चित भएपछि भोट खरिदको रणनीति बनाएको आरोप लगाए । 'एमाओवादी जुनसुकै हथकण्डा लगाएर चुनाव जित्न चाहन्छ,' उनले भने, 'एमालेले जित्ने क्षेत्रमा माओवादीबाट भोट खरिद सुरु भएको छ ।'
नेता नेपालले भोट खरिद भएको क्षेत्रहरुको सूचना संकलन जारी रहेकाले केही दिनभित्रै सार्वजनिक गर्ने बताए । 'विशेषगरी एमालेले जित्ने क्षेत्र र एमाओवादीका केन्द्रीय नेताहरु हार्ने क्षेत्रमा पैसाको चलखेल भएको छ,' उनले भने । निर्वाचन आयोगलाई एमाओवादीले आचारसंहिता उल्लंघन गरेका १५ वटाभन्दा बढी उजुरी बुझाए पनि ध्यानाकर्षण नभएकोप्रति उनले आश्चार्य प्रकट गरे ।
एमाओवादी दक्षिण एसियाको धनी पार्टी भएको यसअघि नै सार्वजनिक भएको उल्लेख गर्दै उनले द्वन्द्वकालमा लुटेका पैसा र लडाकुका नाममा उठाएको पैसाले प्रतिव्यक्ति एक लाख दिन उसलाई कुनै अभाव नहुने नेता नेपालले बताए ।
९७ स्थानमा एमालेको सुरक्षित
नेता नेपालले मंगलबार बिहान १० बजेसम्म एमाले ९७ स्थानमा सुरक्षित भएको दाबी गरे ।
'म तपाईंहरुलाई अहिले बिहान १० बजेसम्मको सूचना तथ्यांकअनुसार स्पष्ट पार्न चाहन्छु एमाले ९७ स्थानमा विजयी भइसकेको छ,' उनले तथ्यांक फुकाए, '८० स्थानमा प्रतिस्पर्धी छौं, ६३ स्थानमा हार्छौं ।' उनले एमालेका कुनै पनि शीर्ष नेताहरु नहार्ने दाबी दोहोर्याए ।
नेता नेपालले एमाओवादीका ठूला नेताहरुको प्रमुख चुनौति एमालेका स्थानीय उम्मेदवार नै भएको उल्लेख गरे । 'चाहे प्रचण्डको काठमाडौं १० र सिरहा ५ भन्नुस्, बाबुरामजीको रुपन्देही भन्नुस्, पोस्टबहादुर बोगटीको नुवाकोट नै किन नहोस्, सवै स्थानमा एमालेका स्थानीय लोकप्रिय उम्मेदवार चुनौति बनेका छन्,' उनले भने ।
एमालेका शीर्ष नेताहरुलाई हराउन एमाओवादी र कांग्रेसबीचको समीकरण बन्नसक्ने खतरा उनले औंल्याए । 'हामीसँग त्यस्ता सूचना आएका छन्,' उनले क्षेत्र नखुलाई भने, 'हेर्दै जानुस् सतहमा आउन सक्छ, यो निष्पक्ष निर्वाचनको सूचक होइन ।' एमालेका ठूला नेतको आक्रमणमा कांग्रेस मौन रहनु गम्भीर शंकाको विषय भएको उनले बताए ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !