|
|
|
|
वासिङटन, १६ असोज । अमेरिकी सरकार बन्दको पहिलो प्रभाव राष्ट्रपति बाराक ओबामाले पहिलेदेखि योजना बनाउनुभएको एसियाको भ्रमणमा परेको छ र बुधबार संघीय कर्मचारीहरू दोस्रो दिन कामबिहीन हुनेभएका छन् । राष्ट्रपति ओबामाले यसैसाता गर्ने भनिएको मलेसिया तथा फिलिपिन्सको भ्रमण योजना रद्द गर्नुभएको छ । उहाँले इन्डोनेसिया तथा बु्रनाइको भ्रमण पनि रद्द गर्नसक्नुहुने देखिएको छ । त्यहाँ उहाँले अन्तर्राष्ट्रिय शिखर बैठकमा भाग लिने कार्यक्रम रहेको छ ।
अमेरिकामा १७ वर्षपछि सरकार बजेटको अभावमा पुनः बन्द भएको छ । हालसम्म पनि रिपब्लिकन तथा डेमोक्र्याटहरू सरकारलाई पुनः सञ्चालन गर्न सहमतिको नजिक पुगेको देखिएको छैन । दोस्रो दिन पनि सङ्घीय कर्मचारीहरू काममा जाने छैनन र वासिङटनका सङ्ग्रहालय तथा स्मारकमा पर्यटक जान पाउने छैनन् । मुलुकका निर्वाचित अधिकारीहरू सहमतिमा पुग्न नसकेको देख्दा अमेरिकी जनतमा क्रोध देख्न थालिएको छ ।
राष्ट्रपति ओबामाले सोमबार प्रतिनिधिसभाका परम्परावादीहरूले उहाँको स्वास्थ्य सेवा कानुनलाई कार्यान्वयन हुन नदिन सरकारको बजेटलाई सर्तको रूपमा राख्दै बैचारिक युद्ध आरम्भ गरेको आरोप लगाउनुभयो । उहाँका उच्च प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका तर्फबाट प्रतिनिधिसभाका सभामुख जोन बोएनरले राष्ट्रपतिले वार्ताका लागि अस्वीकार गरेको आरोप लगाउनुभयो ।
ह्वाइट हाउसमा ओबामाकेयरको प्रमुख भाग आरम्भ गर्दै राष्ट्रपति ओबामाले रिपब्लिकनहरूले सरकार बन्द गर्ने कार्य गर्नु आवश्यक नभएको बताउनुभयो । सभामुख बोएनरले बजेटलाई यथावत पारित गर्ने भन्दा पनि टीपार्टीका समूहको पक्ष लिनुभएको छ भने उहाँले उहाँले डेमोक्र्याटहरूले दुइदलीय वार्ताको ढोका बन्द गरी सरकार बन्द हुनबाट नजोगाएको आरोप युएसए टुडेमा लगाउनुभएको छ ।
मङगलबार हजारौँ सङ्घीय कर्मचारीलाई कार्यालयमा काम गर्न दिइएन र घर जान भनियो । ह्वाइट हाउसमा रहेका युवा सहयोगीहरू पनि बाहिरिए र अब राष्ट्रपति ओबामासँग निकै कम कर्मचारी बाँकी छन् । स्ट्याचु अफ लिबर्टीमा पनि पर्यटकहरूलाई जान दिइएन । सैनिक तथा सीमा गस्ती पूर्ण स्वरूपमा क्रियाशील रहे पनि पेन्टागनका आठ लाख कर्मचारीमध्ये आधाले काम पाएनन् ।
यसबीच संसदका रिपब्लिकनहरूले सरकारका केही भाग, वरिष्ठ नागरिकको सुविधा तथा सङ्ग्रहालय खोल्न तयार गरेको विधेयक असफल भएको छ । डेमोक्र्याटहरूले आफ्नो टाउकोमा बन्दुक राखेर वार्ता नगर्ने बताएका छन् । सिनेटका डेमोक्र्याट नेता ह्यारी रिडले आफूहरूले निकुञ्ज तथा क्यान्सर अनुसन्धानबीच छनौट नगर्ने बताउनुभयो ।
राष्ट्रपति ओबामाले सरकार बन्द हुनुले हाल गति लिन लागेको अर्थतन्त्रमाथि प्रभाव पार्ने बताउनुभयो ।
आफ्नो मुद्दाका विषयमा जानकारी दिन राष्ट्रपति बाराक ओबामाले बुधबार ह्वाइट हाउसमा वालस्ट्रिटका प्रमुख व्यापारिक संस्थाका प्रमुख कार्यकारी अधिकारीसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !