|
|
|
|
काठमाडौं, २७ असोज । खोकना, ललितपुरको जावलाखेलबाट सात–आठ किलोमिटर दक्षिणमा पर्ने पुरानो नेवार बस्ती । तोरीको तेलका लागि नाम कमाएको खोकनासँग दसैं नमनाउने अर्को पहिचान पनि छ । हिन्दू र बौद्ध धर्मावलम्बीको बाहुल्य रहे पनि खोकनावासीलाई कहिल्यै पनि दसैंको रौनकले छुदैन ।ठूलो र सानो गरी खोकना दुई भागमा विभाजित छ । एक देखि ८ वडासम्मको भागलाई ठूलो र ९ नम्बर वडालाई सानो खोकना भनिन्छ ।
दुवैमा गरी एक हजार छपन्न घरधुरीमा झण्डै पाँच हजारको बसोबास छ । जसमध्ये झण्डै नब्बे प्रतिशत डंगोल र महर्जन छन् । दसैंका बेला यहाँ सबैभन्दा ठूलो सिद्धिकालीको जात्रा पर्छ । स्थानीय गोपाल डंगोलका अनुसार पुरानो बस्तीबाट अहिलेको खोकना (नयाँ बस्ती) मा बसाई सरेदेखि नै दसैं मनाउन छोडिएको हो । तर, बसाई कहिलेसरियो र दसैं कहिलेबाट मनाउन छाडियो, यसको तिथिमिति कसैलाई थाहा छैन । सबै रे कै आधारमा कुरा गर्छन् । तान्त्रिक शक्तिकै कारण यहाँ दसैं नमनाइएको धेरैको विश्वास छ । ‘बस्ती सार्दा तान्त्रिकहरुले सिद्धिकाली जात्राको मिति पनि सारेको विश्वास गरिन्छ ।
पहिला यो जात्रा गाईजात्राको दिन मनाइन्थ्यो । बस्ती सारेसँगै जात्राको मिति पनि सारेपछि देवीलाई त्यो स्विकार्य भएन । नयाँ देवीलाई मञ्जुर हुनेगरी नयाँ मिति जुराउँदा दसैंमा प-यो । त्यसपछि हामीले दसैं मनाउन भ्याएनौं’, स्थानीय शान्ताराम डंगोल भन्छन् । खोकनावासी गाईजात्राको दिन दसैं मान्छन्, तर टीकाजमरा केही लाउँदैनन् । उनीहरुको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ । ‘गाईजात्रालाई दसैंका रुपमा मनाउने हुँदा दसैंलाई वास्ता गर्दैनौं,’ शान्ताराम थप्छन् । सिद्धिकालीको जात्रा आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरु भई नवमीसम्म चल्छ । दसैं मान्नेहरुलाई दसैंखर्च र सामग्री जोरजाम गर्ने चटारो रहेका बेला खोकनावासी भने सिद्धिकाली जात्रा धुमधामसँग कसरी मनाउने भन्ने चिन्तामा हुन्छन् ।
परम्पराअनुसार तृतीयाको दिन तीन वटा राँगा बलि दिइन्छ । राँगाको रगत सिफल चौरस्थित पुरानो मन्दिरमा चढाउन लगिन्छ । चौथीको दिन बाजागाजासाथ ४६ देवताको विधिपूर्वक पूजा हुन्छ । पञ्चमीको दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ । गाउँलेहरु आ–आफ्नो इच्छाले पशु–पक्षी बलि चढाउँछन् । सरकारीस्तरमा गाविसले यसै दिन एउटा राँगा बलि दिन्छ । ४६ देवतालाई भोज खुवाइन्छ । यही दिन मूर्तिलाई खटमा राखेर सिफल चौरस्थित पुरानो मन्दिर लगिन्छ । षष्ठीमा ४६ नै देवताले मन्दिर घुम्छन् । मूर्ति गाउँको चोकचोक घुमाइन्छ ।
सप्तमीमा नाच लीला हुन्छ भने अष्टमीको दिन रुद्रायणी मन्दिरमा मूर्ति स्थापना गरिन्छ । नवमीमा नाचका सामान, पोसाक र गहना थन्क्याइन्छ । मुकुट मन्दिरमा राखिन्छ र दशमीको दिन जात्रा सकिन्छ । जात्राका बेला खोकनावासी सबै नातेदारलाई बोलाएर भोज खुवाउँछन् । तर, टीकाजमरा लगाउँदैनन् । टाढा रहेका आफन्तकहाँ टीका थाप्न जाँदैनन्, न टीका लगाउन कसैलाई घरमा आमन्त्रण नै गर्छन् । ‘हामी जात्राभरिको थकान दशमीको दिन मेट्छौं ।
त्यस दिन खोकनाबाहेक सबैतिर दसैंको टीका लगाइन्छ, हामीचाहिँ आराम गर्छौं,’ स्थानीय कृष्णगोपाल भन्छन्, ‘पहिले जात्रा परेर दसैं मनाउन छोडियो । अहिले त मनाउँजस्तो पनि लाग्दैन । हामी देवताको टीका लगाउँछौं, मन आफैं खुसी हुन्छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !